Skip to content
Opens in a new window
Listen to this chapter • 4:54

[1] येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो।

[2] ठूला भीडहरू उहाँको पछि लागे, अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो।

[3] केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए पनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”

[4] उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले तिनीहरूलाई ‘पुरुष र स्त्री बनाउनुभयो,’

[5] अनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, अनि आफ्नी पत्नीसित एक भई रहन्छ, र ती दुई एकै शरीर हुनेछन्’?

[6] यसरी तिनीहरू अब दुई होइनन्, तर एक हुनेछन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”

[7] तिनीहरूले सोधे, “त्यसो भए, मोशाले किन मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?”

[8] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन।

[9] म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह-विच्छेद गर्दछ, अनि अर्की स्त्रीलाई विवाह गर्दछ, उसले व्यभिचार गर्दछ।”

[10] चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने ता विवाह नगर्नु नै असल हो।”

[11] येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन, तर जसलाई यो दिइएको छ, उसले मात्र सक्दछ।

[12] किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए, अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।”

[13] तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदिऊन्, अनि तिनीहरूका निम्ति प्रार्थना गरिदिऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।

[14] येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनकि स्वर्गको राज्य यस्तैहरूका हो।”

[15] येशूले हात तिनीहरूमाथि राखिसक्नुभएपछि उहाँ त्यहाँबाट गइहाल्नुभयो।

[16] एकजना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई कुन असल काम गर्नुपर्छ?”

[17] येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एकजना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”

[18] त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू,

[19] आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू।’”

[20] त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गरेको छु। ममा अरू के कमी छ?”

[21] येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ; त्यसपछि मलाई पछ्याऊ।”

[22] यो सुनेर त्यो जवान मानिस दुःखित भएर गइहाल्यो, किनकि ऊसित धेरै सम्पत्ति थियो।

[23] तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्‍न कठिन हुन्छ।

[24] म फेरि तिमीहरूलाई भन्दछु, कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”

[25] जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”

[26] तिनीहरूतिर हेरेर येशूले भन्‍नुभयो, “मानिसहरूको लागि यो असम्भव छ; तर परमेश्‍वरको लागि त सबै कुरा सम्भव छन्।”

[27] पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं; त्यसो भए हामीले के पाउनेछौ त?”

[28] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसका पुत्र आफ्नो महिमाको सिंहासनमा बस्‍नेछन्, तिमीहरू पनि जसले उनलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्रओटा सिंहासनहरूमा बस्‍नेछौ।

[29] अनि जसले मेरो निम्ति घर वा दाजुभाइ अथवा दिदीबहिनीहरू अथवा बुबाआमा अथवा बालबच्‍चा वा जग्गाजमिन छोडेको छ, त्यसको सय गुणा र अनन्त जीवन पनि पाउनेछ।

[30] तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, अनि जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।

मत्ती — Chapters