[1] “न्याय नगर, नत्र ता तिम्रो पनि न्याय हुनेछ।
[2] किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ, तिमीले जुन नापले नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
[3] “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ अनि तिम्रो आफ्नै आँखाभित्र भएको मुढातर्फ चाहिँ ध्यानै दिँदैनौ?
[4] जबसम्म तिम्रो आँखाभित्र मुढा रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ?
[5] ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्छौ।
[6] “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेऊ। तिमीहरूका मोती सुँगुरहरूको अघि नफाल। यदि तिमीहरूले यसो गर्यौ भने, तिनीहरूले ती आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्लान् र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।
[7] “माग अनि तिमीहरूलाई त्यो दिइनेछ, खोज अनि तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
[8] किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
[9] “तिमीहरूमध्ये को होला जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला?
[10] अथवा माछा माग्यो भने उसलाई सर्प देला?
[11] यदि तिमीहरू जो दुष्ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने, झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई कति बढी उत्तम उपहारहरू दिनुहुनेछ।
[12] यसकारण हरेक कुरामा अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरू तिनीहरूबाट चाहन्छौ, किनकि व्यवस्था र अगमवक्ताहरूको सारांश यही हो।
[13] “साँघुरो ढोकाबाट भित्र पस। किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ: अनि धेरैले त्यसबाट प्रवेश गर्छन्।
[14] तर जीवनमा पुर्याउने ढोका सानो र बाटो साँघुरो छ, अनि थोरैले मात्र त्यो भेट्टाउनेछन्।
[15] “झूटा अगमवक्ताहरूदेखि होसियार बस। तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।
[16] तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटहरूबाट अङ्गुर अनि सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?
[17] यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ।
[18] असल रूखले खराब फल फलाउन सक्दैन, अनि एउटा खराब रूखले असल फल फलाउन सक्दैन।
[19] असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ, अनि आगोमा फालिनेछ।
[20] यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।
[21] “मलाई ‘प्रभु, प्रभु,’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ।
[22] त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी गरेनौं, अनि तपाईंको नाउँमा भूतहरू धपाएनौं अनि शक्तिशाली कामहरू गरेनौं?’
[23] तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले कहिल्यै तिमीहरूलाई चिनेको छैनँ। हे अधर्म काम गर्नेहरूहो, मबाट दूर भइजाओ!’
[24] “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्छ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
[25] अनि पानी पर्यो, भल आयो, अनि बतास चल्यो र त्यस घरमा बजारियो, र पनि त्यो ढलेन, किनकि त्यसको जग चट्टानमाथि थियो।
[26] तर हरेक जसले मेरा यी वचनहरू सुनेर ती अनुसार काम नगर्नेचाहिँ त्यो त्यस मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।
[27] अनि पानी पर्यो, भल आयो, अनि बतास चल्यो र त्यसमा बजारियो, अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
[28] येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँको शिक्षामा छक्क परे;
[29] किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्तिले झैं सिकाउनुहुन्थ्यो।