[1] एकाबिहानै सबै मुख्य पूजाहारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।
[2] तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।
[3] जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीसओटा चाँदीका सिक्काहरू मुख्य पूजाहारीहरू र प्रधानहरूलाई फर्काइदियो,
[4] अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो ता तिम्रो जिम्मेवारी हो।”
[5] यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, अनि आफू झुण्डिएर मर्यो।
[6] मुख्य पूजाहारीहरूले ती सिक्काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित छैन, किनकि यो रगतको मोल हो।”
[7] तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूको लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्ने निश्चय गरे।
[8] यसैकारण आजसम्मै यसलाई रगतको जमिन भनिदै आएको छ।
[9] तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीसओटा सिक्काहरू लिए,
[10] अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्न प्रयोग गरे।”
[11] अनि येशू राज्यपालको अघि उभिनुभयो, अनि राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्नुभएझैं।”
[12] जब उहाँलाई मुख्य पूजाहारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन।
[13] तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?”
[14] तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्क परे।
[15] अब चाडको समयमा भीडले चाहेबमोजिम एकजना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।
[16] त्यस बेला तिनीहरूसित बारब्बा नाउँ भएको एकजना कुख्यात कैदी थियो।
[17] अनि जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूको लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्ट भनिने येशूलाई?”
[18] किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।
[19] पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राती मैले सपनामा तिनको कारण धेरै कष्ट भोगेकी छु।”
[20] तर मुख्य पूजाहारीहरूले अनि प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिने माग गर्न भीडलाई उक्साए।
[21] राज्यपालले सोधे, “दुईजनामा म तिमीहरूको निम्ति कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”
[22] पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
[23] पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
[24] जब पिलातसले आफ्नो केही सीप नलाग्ने, बरु अझ खैलाबैला मच्चिने देखे, तिनले पानी लिएर भीडको सामुन्ने आफ्ना हात धोए। तिनले भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”
[25] सबैजनाले जवाफ दिए, “यिनको रगत हामीहरू र हाम्रा सन्तानमाथि परोस्।”
[26] तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लाउन लगाए, अनि उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
[27] तब राज्यपालका सिपाहीहरूले येशूलाई महलमा लगे अनि जम्मै पल्टनलाई उहाँको चारैतिर भेला गराए।
[28] तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए।
[29] अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अघि घुँडा टेकेर उहाँलाई अपमान गरेर भने, “यहूदीहरूका राजाको जय!”
[30] तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा बारम्बार हिर्काए।
[31] उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँलाई उहाँकै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
[32] तिनीहरू जाँदै गर्दा थिए, तिनीहरूले साइरिनीवासी सिमोनलाई भेटे अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।
[33] तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे।
[34] त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउनलाई दिए, तर चाखेपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो।
[35] जब तिनीहरूले उहाँलाई क्रूसमा चढाइसके, तिनीहरूले उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे।
[36] अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले।
[37] उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो।
[38] त्यति बेला दुई डाँकूहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।
[39] त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्लाउँदै उहाँलाई अपमान गरेर
[40] यसो भने, “तँ, जो मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफूलाई बचा! तँ परमेश्वरका पुत्र होस् भने, क्रूसबाट तल ओर्लेर आइज!”
[41] यस्तै किसिमले मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू अनि प्रधानहरूले पनि उहाँको अपमान गरे।
[42] तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफूलाई बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्लिआओस्, र हामी यसलाई विश्वास गर्नेछौं।
[43] यसले परमेश्वरमाथि भरोसा राख्छ। यदि परमेश्वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले मुक्त गरून्, किनकि यसले ‘म परमेश्वरका पुत्र हुँ’ भनेको छ।”
[44] यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकूहरूले पनि उहाँलाई धेरै अपमान गरे।
[45] बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
[46] दिउँसो तीन बजेतिर येशू चर्को सोरमा कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?”
[47] त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”
[48] तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दियो।
[49] अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौं कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”
[50] अनि जब येशू चर्को सोरले फेरि कराउनुभयो, उहाँले आफ्नो प्राण त्याग्नुभयो।
[51] त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्लियो अनि चट्टानहरू फुटे।
[52] चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।
[53] तिनीहरू चिहानबाट बाहिर निस्किआए, अनि येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र शहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।
[54] जब येशूलाई पहरा दिने त्यो कप्तान र ऊसित हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तिनीहरू अत्यन्त डराए, अनि भने, “निश्चय उहाँ परमेश्वरका पुत्र हुनुहुँदोरहेछ!”
[55] त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।
[56] तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।
[57] साँझ परेपछि, अरिमथियाका योसेफ नाउँ भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।
[58] तिनले पिलातसकहाँ गएर येशूको शव मागे र पिलातसले तिनलाई त्यो दिइयोस् भन्ने हुकुम गरे।
[59] अनि योसेफले शव लगे, र सफा मलमलको लुगाले बेह्रे,
[60] अनि आफ्नै नयाँ चिहानमा राखे जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिए र गए।
[61] त्यहाँ चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।
[62] अर्को दिन, अर्थात् विश्रामदिनको तयारीको भोलिपल्ट मुख्य पूजाहारीहरू अनि फरिसीहरू पिलातसकहाँ गए।
[63] तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।
[64] यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्र ता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, अनि मानिसहरूलाई ऊ जीवित भई उठेको छ भन्लान्। यो अन्तिम धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।”
[65] पिलातसले जवाफ दिए, “केही पहरादारहरू लेओ र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”
[66] यसकारण तिनीहरू गए, अनि ढुङ्गामा छाप लगाएर एउटा पहरादारहरूलाई त्यहाँ राखेर चिहानलाई सुरक्षित पारे।