Skip to content
Opens in a new window
Listen to this chapter • 5:22

[1] “किनकि स्वर्गको राज्य एकजना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीको लागि खेतालाहरू खोज्न बिहानै निस्के।

[2] तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भए, अनि तिनीहरूलाई दाखबारीमा काम गर्न पठाइदिए।

[3] “करीब बिहान नौ बजेतिर तिनी बाहिर गए, अनि बजारमा कतिलाई केही नगरी उभिरहेका देखे।

[4] तिनले तिनीहरूलाई भने ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर, अनि जे उचित छ म तिमीहरूलाई दिनेछु।’

[5] अनि तिनीहरू गए। “तिनी फेरि दिउँसो बाह्र बजेतिर अनि करीब दिउँसोको तीन बजेतिर बाहिर गए, अनि त्यसै गरे।

[6] अनि बेलुकाको पाँच बजेतिर तिनी बाहिर गए, र अझ अरूलाई त्यसै उभिरहेका देखे। तिनले तिनीहरूलाई सोधे, ‘तिमीहरू केही नगरी यहाँ दिनभरि किन उभिरहेका छौ?’

[7] “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’

[8] “जब साँझ पर्‍यो, दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भने, ‘खेतालाहरूलाई बोलाऊ अनि अन्तिममा काममा खटाइएकाहरूदेखि लिएर सुरुमा आएकाहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’

[9] “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू आए अनि हरेकले एक-एक दिनार पाए।

[10] तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक दिनार पाए।

[11] तिनीहरूले त्यो पाएपछि तिनीहरू जमिनको मालिकसित गनगनाउन थाले।

[12] तिनीहरूले भने, ‘यी आखिरमा काममा लगाइएका मानिसहरूले एक घण्टा मात्र काम गरेका छन्, अनि तपाईंले तिनीहरूलाई हामी समान तुल्याउनुभयो, जसले कामको बोझ उठायौं अनि दिनको गर्मी सह्‍यौं।’

[13] “तर तिनले तिनीहरूमध्ये एकजनालाई जवाफ दिए, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ?

[14] तिम्रो ज्याला लिएर जाऊ। म आखिरमा काममा खटाइएको मानिसलाई तिमीलाई दिएको जति नै दिन चाहन्छु।

[15] के मेरो आफ्नै पैसालाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’

[16] “यसकारण पछिल्‍ला हुनेहरू पहिला हुनेछन् र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”

[17] जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, उहाँले साथमा बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्‍नुभयो,

[18] “हामी यरूशलेमतर्फ जाँदैछौं, अनि मानिसका पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछन्। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्,

[19] अनि उनलाई गैरयहूदीहरूको हातमा गिल्‍ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ!”

[20] तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, अनि घुँडा टेकेर उहाँसँग एउटा विन्ती गरिन्।

[21] उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” उनले भनिन्, “मेरा यी छोराहरूमध्ये एकजना तपाईंको राज्यमा तपाईंको दाहिनेतिर अनि अर्कोचाहिँ देब्रेतिर बस्‍न पाउने मञ्जुरी दिनुहोस्।”

[22] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी सक्छौं।”

[23] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले अवश्य मेरो कचौरादेखि पिउनेछौ, तर तिमीहरू मेरा दाहिने र देब्रेपट्टि बस्‍न पाउने कुराचाहिँ म मञ्जूर गर्न सक्दिनँ। यी ठाउँहरू त मेरा पिताले तयार गर्नुभएकाहरूका लागि हुन्।”

[24] जब ती दशजनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए।

[25] येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, अनि तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ।

[26] तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ,

[27] अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ।

[28] यसरी नै मानिसका पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न, अनि धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आएका हुन्।”

[29] येशू र उहाँका चेलाहरूले जब यरिहो छोड्दैहुनुहुन्थ्यो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।

[30] दुईजना दृष्‍टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए, अनि जब तिनीहरूले येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्‍ने सुने, तिनीहरू यसो भनी कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”

[31] भीडले तिनीहरूलाई चूप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”

[32] येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूको निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?”

[33] तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्‍टि पाऔं।”

[34] येशू तिनीहरूप्रति दयाले भरिनुभयो अनि तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्‍टि पाए, अनि उहाँलाई पछ्याए।

मत्ती — Chapters