[1] ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए,
[2] “पश्चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।”
[3] यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको बाटो तयार पार, उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ”
[4] यूहन्नाको लुगा ऊँटको रौँले बनेको थियो, अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वनमह थियो।
[5] यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए।
[6] आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
[7] तर जब तिनले आफूले बप्तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तिनले भने: “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो?
[8] पश्चात्तापअनुसारको फल फलाओ।
[9] अनि आफै ‘हामी अब्राहामका वंशज हौं’ भन्ने नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
[10] रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।
[11] “म ता तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
[12] उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
[13] त्यसपछि येशू यूहन्नाद्वारा बप्तिस्मा लिनलाई गालीलबाट यर्दनमा आउनुभयो।
[14] तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर के तपाईं मकहाँ आउने?”
[15] येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ: सबै धार्मिकता पूरा हुनालाई हाम्रो लागि यो गर्नु नै उचित छ।” तब यूहन्ना राजी भए।
[16] येशूले जब बप्तिस्मा लिनुभयो, उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो, अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैं ओर्लंदै आएर आफूमाथि बस्नुभएको देख्नुभयो।
[17] अनि स्वर्गबाट एउटा आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”