Skip to content
Opens in a new window
Listen to this chapter • 4:45

[1] येशूले आफ्ना बाह्रैजना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका शहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो।

[2] जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए,

[3] “के जो आउनेवाला मुक्‍तिदाता हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौं?”

[4] येशूले जवाफ दिनुभयो, “जाओ र जे तिमीहरूले सुन्छौ र देख्छौ, त्यो यूहन्‍नालाई भन:

[5] दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र हिँड्न नसक्‍नेहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, सुन्‍न नसक्नेहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन्, र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।

[6] त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”

[7] यूहन्‍नाका चेलाहरू जब जान लागे, येशूले भीडलाई यूहन्‍नाका विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाइरहेको निगालोलाई?

[8] यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई? होइन, महङ्गो लुगा लाउनेहरू ता राजाका दरबारमा हुन्छन्।

[9] त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्‍ताभन्दा पनि महानलाई।

[10] यी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’

[11] म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् छैन; तापनि स्वर्गको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुनेछ।

[12] बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अघि बढिरहेको छ, अनि बलजफती गर्नेहरूले यसलाई पक्रिराखेका छन्।

[13] किनकि सबै अगमवक्‍ताहरू अनि व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे।

[14] अनि यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया तिनी नै हुन्।

[15] जसको कान छ, त्यसले सुनोस् र बुझोस्।

[16] “यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने बालकहरूजस्ता छन्:

[17] “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौं, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौं, अनि तिमीहरूले विलाप गरेनौ!’

[18] किनकि यूहन्‍ना न ता खाँदै आए, न पिउँदै आए, अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’

[19] मानिसका पुत्र खाँदै र पिउँदै आएँ, अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड अनि कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठीक छ भन्‍ने त त्यसका कामहरूले प्रमाणित गर्छन्।”

[20] त्यसपछि येशूले ती शहरहरूलाई धिक्‍कार्न थाल्नुभयो, जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कामहरू गरिएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्।

[21] “धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानी धसेर पश्‍चात्ताप गर्नेथिए।

[22] तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहनसक्ने हुनेछ।

[23] अनि तँ, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ त तल पातालमा खसालिनेछस्। यदि तँमा गरिएका शक्‍तिशाली कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहनेथियो।

[24] तर म तिमीहरूलाई यो भन्दछु, कि न्यायको दिनमा, तिमीहरूको भन्दा त सदोमको अवस्था सहनसक्ने हुनेछ।”

[25] त्यस बेला येशूले निरन्तर भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ।

[26] किनकि हे पिता, तपाईंलाई यसै गर्न असल लाग्यो।

[27] “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन, अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएकाहरू बाहेक अरू कसैले चिन्दैन।

[28] “हे सबै थाकेका र बोझले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु।

[29] मेरो जुवा आफूमाथि लेओ अनि मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ।

[30] किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

मत्ती — Chapters