Skip to content
Opens in a new window
Listen to this chapter • 6:10

[1] परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुआत,

[2] यशैया अगमवक्‍ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”

[3] “उजाडस्थानमा कराइरहनेको एउटा आवाज, ‘प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सीधा बनाओ।’ ”

[4] अनि यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा, पाप क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए।

[5] यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू, अनि यरूशलेमका मानिसहरू तिनीकहाँ गए। आफ्ना पापहरू स्वीकार गर्दै, तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।

[6] यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे, कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वनमह खान्थे।

[7] तिनको सन्देश यस्तो थियो: “मपछि मभन्दा एकजना शक्‍तिशाली आउनुहुनेछ, जसको जुत्ताको फित्ता निहुरेर फुकाउने योग्यको म छैनँ।

[8] म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।”

[9] त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, अनि यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो।

[10] जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको अनि पवित्र आत्मालाई ढुकुरझैं उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो।

[11] अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसित म अति प्रसन्‍न छु।”

[12] पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो,

[13] अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म रहनुभयो। उहाँ जङ्गली जनावरहरूसित हुनुहुन्थ्यो, अनि स्वर्गदूतहरूले उहाँको सेवाटहल गरे।

[14] यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो।

[15] उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर अनि सुसमाचारमा विश्‍वास गर!”

[16] जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए।

[17] येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु।”

[18] तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे।

[19] उहाँ अझ अलि पर पुग्नुहुँदा उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो।

[20] ढिलाइ नगरी उहाँले तिनीहरूलाई बोलाउनुभयो, अनि तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्‍यालादारहरूको साथमा डुङ्गामा छोडे र उहाँलाई पछ्याए।

[21] उहाँहरू कफर्नहुममा जानुभयो, अनि जब विश्रामदिन आइपुग्यो, येशू सभाघरमा गएर सिकाउन थाल्नुभयो।

[22] मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्‍तिले झैं सिकाउनुहुन्थ्यो।

[23] त्यति नै बेला अशुद्ध आत्मा लागेको एकजना मानिस सभाघरमा यसरी करायो,

[24] “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”

[25] येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चूप लाग्! त्यसबाट निस्किजा!”

[26] अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, अनि चिच्याएर त्यसबाट निस्क्यो।

[27] तब ती मानिसहरू यति छक्‍क परे कि, तिनीहरूले आपसमा भने, “यो के हो? एउटा अधिकार सहितको नयाँ शिक्षा! यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, अनि तिनीहरूले यिनको आज्ञा मान्दछन्।”

[28] अनि उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो।

[29] उहाँहरूले सभाघर छोड्नासाथै उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो।

[30] सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, अनि तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने।

[31] अनि उहाँ तिनीकहाँ जानुभयो, तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।

[32] त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए।

[33] शहरका सारा मानिसहरू ढोकामा नै भेला भए;

[34] अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनकि तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।

[35] एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो अनि एउटा एकान्त ठाउँमा जानुभयो, र त्यहाँ उहाँले प्रार्थना गर्नुभयो।

[36] अनि सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए,

[37] अनि जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!”

[38] येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔं, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैको लागि आएको हुँ।”

[39] यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।

[40] एकजना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आयो र घुँडा टेकेर उहाँसित विन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने, मलाई निको पार्न सक्नुहुन्छ।”

[41] दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध भइजाऊ!”

[42] तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, अनि त्यो शुद्ध भयो।

[43] येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो:

[44] “यो कुरो कसैलाई नभन्‍नू; तर जाऊ, आफैलाई पूजाहारीकहाँ देखाऊ, अनि मोशाले तिमीहरूको शुद्धीकरणको निम्ति दिएका आज्ञाअनुसार, तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।”

[45] तर त्यो त बाहिर गयो, र खुल्‍लमखुल्‍ला त्यो खबर फैलाउनथाल्यो। त्यसकारण उहाँ शहरमा पस्‍न सक्नुभएन, तर बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।

मर्कूस — Chapters