Skip to content
Opens in a new window
Listen to this chapter • 5:37

[1] त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने।

[2] तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्, त्यसकारण तिनीद्वारा शक्‍तिशाली कामहरू भइरहेका छन्।”

[3] हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले, यूहन्‍नालाई पक्रेर अनि बाँधेर झ्यालखानामा राखेका थिए,

[4] किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले उसलाई राख्नु उचित छैन।”

[5] हेरोदले यूहन्‍नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे, किनकि तिनीहरूले यूहन्‍नालाई एक अगमवक्‍ता भनी मान्थे।

[6] हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई यति धेरै खुशी पारी

[7] कि, तिनले उसले जे मागे पनि दिनेछु भनी शपथ खाएर वचन दिए।

[8] आमाले सिकाएअनुसार त्यसले भनी, “यहीं मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।”

[9] राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस विन्तीलाई पूरा गरिदिने आज्ञा दिए,

[10] अनि झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए।

[11] तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो, उसले त्यो आफ्नी आमाकहाँ लगी।

[12] यूहन्‍नाका चेलाहरू आएर तिनको शरीर लगे, अनि त्यो गाडिदिए। अनि तिनीहरूले गएर येशूलाई भनिदिए।

[13] जब येशूले यो घटना सुन्‍नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्‍कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर शहरहरूबाट भीडहरू उहाँलाई पछ्याउँदै पैदलै गए।

[14] जब येशू उत्रनुभयो अनि उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो; उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो अनि तिनीहरूका रोगहरूलाई निको पार्नुभयो।

[15] साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, अनि अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”

[16] येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”

[17] तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँचओटा रोटी र दुईओटा माछा मात्र छन्।”

[18] उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्याओ।”

[19] अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्‍ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो अनि रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।

[20] तिनीहरू सबैले ती खाए र अघाए, अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।

[21] ती खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।

[22] येशूले भीडलाई बिदा गर्नुहुँदा उहाँले चेलाहरूलाई डुङ्गामा चढेर झट्टै उहाँभन्दा अघि पारिपट्टि जान लाउनुभयो।

[23] उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि, उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो,

[24] तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्‍याइँदैथियो।

[25] बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।

[26] जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तिनीहरू डराए। अनि तिनीहरू, “यो ता भूत हो” भनी डरले चिच्याए।

[27] तर येशूले तुरुन्तै तिनीहरूलाई भन्‍नुभयो: “साहस गर! म नै हुँ। नडराओ।”

[28] पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउन अह्राउनुहोस्।”

[29] उहाँले भन्‍नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए,

[30] तर जब तिनले बतास देखे, तब तिनी डराए अनि, डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनी चिच्याए।

[31] येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो अनि भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?”

[32] अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो।

[33] तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, अनि उहाँलाई दण्डवत् गरे।

[34] तिनीहरू पारि पुगेपछि गनेसरेतमा उत्रे।

[35] अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए।

[36] अनि रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र छुन दिनुहोस् भनी उहाँलाई विन्ती गरे, अनि जतिले उहाँलाई छोए तिनीहरू सबै निको भए।

मत्ती — Chapters