[1] त्यस बेला चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?”
[2] उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो,
[3] र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
[4] यसकारण जसले आफैलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
[5] अनि जसले यसरी एउटा बालकलाई मेरो नाउँमा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।
[6] “यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई पनि पाप गर्न लगाउँछ भने, उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइदिनु असल हुनेथियो।
[7] मानिसहरूलाई पाप गर्न लाउने कुराहरूको लागि यस संसारलाई धिक्कार! यस्ता कुराहरू त आउनैपर्छ, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउँछन्!
[8] यदि तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा हिँड्न नसक्ने भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
[9] अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एक आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
[10] “होसियार रहो कि, तिमीहरूबाट यी सानाहरूमध्ये एउटाको पनि हेला नहोऊन्; किनकि म तिमीहरूलाई भन्दछु स्वर्गमा तिनीहरूका दूतले सधैं स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्।
[11] मानिसको पुत्र हराएकालाई बचाउन आएको हुँ।
[12] “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, अनि तीमध्ये एउटा बाटो बिराएर गइहाल्यो भने उसले उनान्सयलाई पहाडमा छोडेर, त्यस बाटो बिराएकोलाई खोज्न जाँदैन र?
[13] म तिमीहरूलाई साँच्चै भन्दछु, कि उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयहरूभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।
[14] यसकारण यी सानाहरूमध्ये एउटा पनि नहराओस् भन्ने तिमीहरूका स्वर्गीय पिताले इच्छा गर्नुहुन्छ।
[15] “यदि तिम्रो सह विश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने जाऊ र तिमी दुईबीच मात्र उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
[16] तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुईजनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्का भएको होस्।’
[17] यदि उसले तिनीहरूका कुरा पनि मानेन भने, मण्डलीलाई यो भनिदेऊ; अनि उसले मण्डलीको कुरा पनि मानेन भने, तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैं व्यवहार गर।
[18] “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।
[19] “फेरि म तिमीहरूलाई साँचो भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुईजनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूको निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा गरिनेछ।
[20] किनकि जहाँ दुई वा तीन जना मेरो नाउँमा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
[21] तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कतिपल्ट क्षमा दिनू? के सातपल्ट?”
[22] येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरीपल्ट।
[23] “यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे।
[24] तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो।
[25] उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नको लागि त्यो मानिस, उसकी स्वास्नी अनि उसका बालबच्चाहरू र ऊसित भएका सबै थोक बेचियोस् भन्ने हुकुम दिए।
[26] “त्यस सेवकले तिनको अघि घुँडा टेकेर विन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, अनि म सबै तिर्नेछु।’
[27] त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए र त्यसलाई जानदिए।
[28] “तर त्यो सेवकले गएर ऊसित काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल’ भनेर माग गर्यो।
[29] “ऊसित काम गर्ने त्यस सेवकले उसको अघि घुँडा टेकेर विन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, अनि म तिर्नेछु।’
[30] “तर उसले अस्वीकार गर्यो। अनि गएर त्यसले ऋण नतिरून्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो।
[31] तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, अनि गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।
[32] “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्ट सेवक, तैंले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ।
[33] मैले तँमाथि दया देखाएझैं के तैंले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’
[34] रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।
[35] “तिमीहरूले पनि आफ्ना सह विश्वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।”