[1] एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्दै तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।
[2] उहाँले भन्नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’
[3] अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ अनि बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लाउनसक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ।
[4] दुष्ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि येशू तिनीहरूलाई छोडेर गइहाल्नुभयो।
[5] जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से।
[6] “सावधान!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमीरदेखि होसियार रहो।”
[7] तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौं भनेर होला।”
[8] तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्वासीहरूहो, तिमीहरू किन रोटी छैन भनेर आपसमा कुरा गर्दछौ?
[9] तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, अनि कति डालाभरि तिमीहरूले बटुल्यौ, त्यो सम्झना आउँदैन?
[10] अथवा चार हजारका निम्ति सात रोटी थिए, अनि तिमीहरूले कति डाला बटुल्यौ?
[11] मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमीरदेखि होसियार बस।”
[12] तब उहाँले रोटीमा हाल्ने खमीरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे।
[13] जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसका पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।
[14] तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना; कसैले एलिया भन्छन्; अनि अझ अरूले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
[15] उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?”
[16] सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।”
[17] येशूले जवाफ दिनुभयो, “योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।
[18] अनि म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ, अनि म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।
[19] म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।”
[20] तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
[21] त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्टहरू सहनुपर्छ अनि उहाँ मर्नुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्न थाल्नुभयो।
[22] पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले।
[23] येशूले फर्केर पत्रुसलाई भन्नुभयो, “ए शैतान, मबाट टाढा जा! तँ मेरो लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
[24] तब येशूले चेलाहरूलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
[25] किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ।
[26] कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदला के दिन सक्ला र?
[27] किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछन्, अनि त्यस बेला उनले हरेक व्यक्तिलाई उसले जे गरेको छ, त्यसअनुसार प्रतिफल दिनेछन्।
[28] “म तिमीहरूलाई साँच्चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसका पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेका नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”