Skip to content
Opens in a new window
Listen to this chapter • 8:51

[1] येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्‍नुभयो।

[2] उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो, अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए।

[3] तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्‍टान्तबाट धेरै कुराहरू भन्‍नुभयो: “एकजना किसान बीउ छर्नलाई निस्क्यो।

[4] उसले जब बीउ छर्दैथियो, केही बीउ बाटोमा परे, अनि चराहरूले आएर ती खाइहाले।

[5] केही ढुङ्गेनी जमिनहरूमा परे, जहाँ धेरै माटो थिएन। ती चाँडै उम्रे, किनकि माटो पातलो भएकोले

[6] जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए, अनि तिनीहरूमा जरा नभएकाले ती सुकिहाले।

[7] अरू काँडाका झाडीमा परे, अनि काँडाहरू बढेर आए र ती बिरूवाहरूलाई निसासिदिए।

[8] अरू बीउहरूचाहिँ असल जमिनमा परे, जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्‍न फलाए।

[9] जसको कान छ, त्यसले सुनोस् र बुझोस्।”

[10] अनि चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

[11] उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई गरिएको छैन।

[12] जससित छ, त्यसलाई अरू दिइनेछ, अनि त्यससित प्रशस्त हुनेछ; तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।

[13] यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: “हेरे तापनि तिनीहरूले देख्नेछैनन्: सुने तापनि तिनीहरूले सुन्‍ने वा बुझ्नेछैनन्।

[14] तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न ता देख्छौ, तर कहिल्यै चिन्‍नेछैनौ।

[15] किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्र ता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’

[16] तर तिमीहरूका आँखा धन्यका हुन्, किनकि तिनले देख्छन्, अनि तिमीहरूका कानहरू धन्य हुन् किनकि तिनले सुन्छन्।

[17] किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्‍ताहरू र धार्मिक मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्; अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।

[18] “त्यसैले बीउ छर्नेको दृष्‍टान्तको अर्थ के हो ध्यानसित सुन:

[19] कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बीउ यही हो।

[20] ढुङ्गेनी जमिनमा खसेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ।

[21] तर तिनीहरूका जरा नभएकाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तिनीहरू झट्टै पछि हट्छन्।

[22] काँडाहरूमा परेको बीउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन् र त्यो फलहीन हुन्छ।

[23] तर असल जमिनमा परेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ अनि बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”

[24] येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बीउ छर्‍यो।

[25] तर जब सबै सुतिरहेका थिए, उसको शत्रु आयो र गहुँको बीचमा सामा छरेर गयो।

[26] जब गहुँ उम्रियो अनि बाला लाग्यो, त्यहाँ सामा पनि देखा पर्‍यो।

[27] “मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बीउ छर्नुभएको होइन, अनि यी सामाहरू कताबाट आए त?’

[28] “ ‘कुनै शत्रुले यो गर्‍यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔं भन्‍ने तपाईं चाहनुहुन्छ?’

[29] “उसले जवाफ दियो, ‘होइन, किनकि जब तिमीहरूले सामा उखेलिरहेका हुन्छौ, तिमीहरूले सामासित गहुँ पनि उखेल्न सक्छौ।

[30] कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ”

[31] उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बीउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो।

[32] यो तिम्रा अरू बीउहरूभन्दा सानो भए तापनि, जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरू भन्दा ठूलो भएर झाँगिन्छ, अनि चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।”

[33] उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई, अनि सम्पूर्ण पीठो खमीरी नहुन्जेल राखी।”

[34] येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो: उहाँले तिनीहरूलाई दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन।

[35] यसरी अगमवक्‍ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु, म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।”

[36] तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।”

[37] उहाँले जवाफ दिनुभयो, “जसले असल बीउ छरे, त्योचाहिँ मानिसका पुत्र हुन्।

[38] खेत संसार हो, अनि असल बीउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्,

[39] अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो, अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।

[40] “सामा उखेलिएर आगोमा हालिएझैं यस युगको अन्त्य पनि हुनेछ।

[41] मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछ, अनि तिनीहरूले पाप गर्न लाउने र दुष्‍ट काम गर्ने हरेकलाई राज्यदेखि बटुल्नेछन्।

[42] अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।

[43] तब धर्मात्माहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।

[44] “स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।

[45] “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एकजना व्यापारीजस्तो हो।

[46] जब उसले एउटा बहुमूल्य मोती भेट्टायो, ऊ गइहाल्यो अनि आफूसित भएका सबै थोक बेचेर त्यो किन्यो।

[47] “फेरि पनि स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे।

[48] जब त्यो भरियो, मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबलाई बाहिर फ्याँकिदिए।

[49] युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्,

[50] अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”

[51] येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौं।”

[52] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एकजना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।”

[53] जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अघि बढ्नुभयो।

[54] आफ्नो घर भएको शहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो, अनि तिनीहरू छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने शक्‍ति कहाँबाट पायो?

[55] के यो सिकर्मीको छोरो होइन? के यसकी आमाको नाउँ मरियम होइन, अनि यसका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन्?

[56] के यसका बहिनीहरू हामीसित छैनन्? त्यसो भए यस मानिसले यी सबै कुराहरू कहाँबाट पायो?”

[57] अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ता आफ्नै ठाउँमा अनि उसको आफ्नै घरमा मात्र आदररहित हुन्छ।”

[58] अनि उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्‍तिशाली कामहरू गर्नुभएन।

मत्ती — Chapters