[1] येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, अनि हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
[2] ती बाह्र प्रेरितहरूका नाउँ यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, अनि तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनको भाइ यूहन्ना;
[3] फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसको छोरो याकोब अनि थेदियस;
[4] सिमोन कनानी अनि यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
[5] यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, अनि सामरीहरूका शहरहरूमा नपस।
[6] बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ।
[7] तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’
[8] रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ, भूत आत्माहरू धपाओ। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।
[9] “आफूसित पटुकामा सुन, चाँदी अथवा तामा नलैजाओ।
[10] यात्राको लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लौरो नबोक; किनकि खेताला ज्यालाको योग्य हुन्छ।
[11] तिमीहरू जुन शहर अथवा गाउँमा पस्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज र तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस।
[12] तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई आफ्नो अभिवादन भन।
[13] यदि त्यो घर त्यस योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमा रहोस्; यदि छैन भने, तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्।
[14] यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा शहरलाई छोडेर जाँदा तिमीहरूका खुट्टाको धूलो टक्टक्याइदेओ।
[15] म यो साँचो कुरा तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस शहरको भन्दा त सदोम र गमोराको अवस्था सहनसक्ने हुनेछ।
[16] “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैं पठाउँदैछु। यसकारण सर्पझैं चतुर र ढुकुरझैं सोझो होओ।
[17] मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, अनि तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्।
[18] मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, अनि तिमीहरू गैरयहूदीहरूको अघि मेरा साक्षी हुनेछौ।
[19] तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ।
[20] किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
[21] “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युको निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, अनि तिनीहरूलाई मार्न लाउनेछन्।
[22] तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ।
[23] जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसका पुत्र आउनु अघि तिमीहरूले इस्राएलका शहरहरू पनि घुमिसकेका हुनेछैनौ।
[24] “चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, न ता सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ।
[25] चेलालाई गुरु जत्तिको हुनु र सेवकलाई मालिक जत्तिको हुनु नै पर्याप्त हुन्छ। यदि घरानाको मुखियालाई बालजिबुल भनिएको छ भने, घरानाका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
[26] “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरो छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरो छैन, जो थाहा लाग्दैन।
[27] जे मैले तिमीहरूलाई अँध्यारोमा भनें, त्यसलाई दिनको उज्यालोमा भनिदेओ: तिमीहरूको कानमा जे भनिएको छ, त्यो घरको धुरीबाट घोषणा गरिदेओ।
[28] शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
[29] के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन।
[30] तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्।
[31] यसकारण नडराओ तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
[32] “जसले मलाई मानिसहरूको सामुन्ने स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामुन्ने स्वीकार गर्नेछु।
[33] तर जसले मलाई मानिसहरूको सामुन्ने अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामुन्ने अस्वीकार गर्नेछु।
[34] “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति होइन, तर तरवार लिएर आएको हुँ।
[35] किनकि म, “ ‘मानिसलाई उसको बुबाको विरुद्धमा, छोरीलाई उसकी आमाको विरुद्धमा, बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएँ।
[36] मानिसका शत्रुहरू त आफ्नै परिवारका सदस्यहरू हुनेछन्।’
[37] “जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
[38] अनि जसले आफ्नो क्रूस लिएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
[39] जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ, जसले आफ्नो प्राण मेरो निम्ति गुमाउछ उसले त्यो पाउनेछ।
[40] “जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
[41] जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ, अनि जसले धार्मिक मानिसलाई धार्मिक मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धार्मिक मानिसको इनाम पाउनेछ।
[42] अनि यदि कसैले यी सानाहरूमध्ये एकजनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने, म तिमीहरूलाई साँच्चै भन्दछु, निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”