Skip to content
Opens in a new window
Listen to this chapter • 8:03

[1] त्यस बेला येशू विश्रामदिनमा अन्‍नका खेतबारीहरूबाट भएर जानुभयो। उहाँका चेलाहरू भोकाएका थिए, अनि तिनीहरूले अन्‍नका केही बालाहरू टिपेर खान थाले।

[2] यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले विश्रामदिनमा उचित नहुने काम गरिरहेका छन्।”

[3] उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ, दाविदले आफू र आफ्ना साथीहरू भोकाएको बेला के गरेका थिए?

[4] तिनी परमेश्‍वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो केवल पूजाहारीहरूले मात्र खान उचित थियो, तर अरूको लागि उचित थिएन।

[5] अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि, विश्रामदिनमा मन्दिरभित्र भएका पूजाहारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन् र पनि निर्दोष नै रहन्छन्?

[6] म तिमीहरूलाई भन्दछु, कि मन्दिरभन्दा महान् यहाँ एकजना हुनुहुन्छ।

[7] यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइनँ, तर दया चाहन्छु’ भन्‍ने बुझेका भए तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ।

[8] किनकि मानिसका पुत्र विश्रामदिनको पनि प्रभु हुन्।”

[9] त्यस ठाउँदेखि अघि बढ्दै, उहाँ तिनीहरूका सभाघरमा जानुभयो।

[10] अनि त्यहाँ हात सुकेर नचल्ने भएको एकजना मानिस थियो। येशूलाई दोष लाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के विश्रामदिनमा निको पार्नु उचित छ?”

[11] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ, अनि त्यो विश्रामदिनमा खाडलमा खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ?

[12] मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण विश्रामदिनमा असल गर्नु उचित हुन्छ।”

[13] तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्‍यो, अनि त्यसको हात अर्को हातजस्तै निको भयो।

[14] तर फरिसीहरू बाहिर गइहाले, अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले।

[15] त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो, अनि उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो।

[16] अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो।

[17] यो यशैयाबाट भनिएको कुरा पूरा हुनालाई थियो:

[18] “यिनी मेरा सेवक हुन् जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जसमाथि म प्रसन्‍न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्।

[19] तिनले झगडा गर्नेछैनन्, न ता चिच्याउने छन्; तिनको आवाज सडकतिर कसैले पनि सुन्‍नेछैन।

[20] चोट परेको निगालोलाई तिनले भाँच्ने छैनन्, अनि धूवाँ आउँदै गरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्‍याउनेछैनन्।

[21] तिनकै नाउँमा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”

[22] तब तिनीहरूले उहाँकहाँ एकजना भूत लागेको मानिसलाई ल्याए, जो दृष्‍टिविहीन थियो अनि बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न, र बोल्न पनि सक्यो।

[23] ती सबै मानिसहरू छक्‍क परे अनि भने, “के यिनी नै दाविदका पुत्र होइनन् र?”

[24] तर जब फरिसीहरूले यो सुनेर तिनीहरूले भने, “यसले ता केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।”

[25] येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्‍ट भएर जान्छ, अनि प्रत्येक शहर र परिवार आफूभित्र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन।

[26] यदि शैतानले शैतानलाई धपाउँछ भने, त्यो ता आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ, तब कसरी त्यसको राज्य टिक्न सक्छ?

[27] अनि यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।

[28] तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।

[29] “अथवा फेरि कसैले घरको बलियो मानिसलाई पहिला उसलाई नबाँधी कसरी उसको घरमा पसेर त्यसका सबै थोकहरू लैजान सक्ला र? तर त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।

[30] “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।

[31] यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।

[32] कसैले मानिसका पुत्रको विरुद्धमा केही बोल्यो भने त्यो क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, त्यसलाई न ता यस समयमा न ता आउने समयमा नै क्षमा गरिनेछ।

[33] “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, अनि त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।

[34] हे सर्पका सन्तानहो, तिमीहरू दुष्‍ट भइकन कसरी केही कुरालाई असल भन्‍न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।

[35] असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ।

[36] तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ।

[37] किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ अनि तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”

[38] एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।”

[39] उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्‍ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।

[40] किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसका पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछु।

[41] न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए, तर हेर योनाभन्दा महान् एकजना यहाँ छन्।

[42] न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एकजना यहाँ छन्।

[43] “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ, अनि त्यसले भेट्टाउँदैन।

[44] तब त्यसले भन्छ, ‘तुरुन्तै म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घरलाई खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ।

[45] त्यसपछि त्यो जान्छ र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, अनि ती सबै भित्र गएर त्यहीं बस्छन्। अनि त्यो मानिसको पछिल्‍लो दशा पहिलेकोभन्दा झन् खराब हुन्छ। यस दुष्‍ट पुस्तालाई पनि यस्तै हुनेछ।”

[46] येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए।

[47] कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नको लागि बाहिर उभिरहेका छन्।”

[48] उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?”

[49] तब चेलाहरूतिर देखाएर उहाँले भन्‍नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्।

[50] किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, ऊ नै मेरो भाइ, बहिनी र आमा हुन्।”

मत्ती — Chapters