[1] येशूले मन्दिर छोडेर गइरहनुहुँदा, चेलाहरू उहाँको ध्यान मन्दिरको बनौटतिर आकर्षित गर्नलाई उहाँकहाँ आए।
[2] उहाँले सोध्नुभयो, “के तिमीहरू यी सब थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
[3] येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आए। तिनीहरूले भने, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, अनि तपाईंको आगमनको र जगतको अन्त्यको चिन्ह के हुनेछ?”
[4] येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।
[5] किनकि धेरैजना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ,’ भन्ने दाबी गर्दै आउनेछन् अनि धेरैलाई धोका दिनेछन्।
[6] तिमीहरूले लडाइँहरू र लडाइँका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ, तर अन्त्य आउन अझै बाँकी नै छ।
[7] जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुँइचालाहरू जानेछन्।
[8] तर यी सबै त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्।
[9] “तब तिमीहरू सताइनको लागि र मारिनको लागि सुम्पिइनेछौ, अनि तिमीहरू मेरो निम्ति सबै राष्ट्रहरूद्वारा घृणित हुनेछौ।
[10] त्यस बेला धेरैजना विश्वासबाट पछि हट्नेछन्, अनि एक-आपसमा धोकाबाजी र घृणा गर्नेछन्।
[11] अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्।
[12] दुष्टता बढेकोले, धेरैको प्रेम सेलाउनेछ,
[13] तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ।
[14] अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।
[15] “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्—
[16] तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
[17] घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नझरोस्।
[18] खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।
[19] ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्!
[20] तिमीहरूको भागा-भाग विश्रामदिनमा अथवा हिउँदमा नहोस् भनी प्रार्थना गर।
[21] किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ कि, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो न ता फेरि कहिल्यै हुनेछ।
[22] “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिनहरू घटाइनेछन्।
[23] त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ अथवा, ‘तिनी त्यहाँ छन्’ भन्छ भने विश्वास नगर।
[24] किनकि झूटा ख्रीष्टहरू अनि झूटा अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई, ठूला-ठूला अलौकिक चिन्हहरू र आश्चर्यपूर्ण कामहरू गर्नेछन्।
[25] हेर, मैले तिमीहरूलाई पहिलेबाटै भनिदिएको छु।
[26] “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो विश्वास नगर।
[27] किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखापर्छ, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ।
[28] जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
[29] “ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै “ ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
[30] “त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्।
[31] अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को स्वरसित पठाउनेछ, अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
[32] “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, तिमीहरू ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।
[33] त्यसरी नै जब तिमीहरूले यी सब कुराहरू भइरहेका देख्छौ, तिमीहरूले यो नजिकै, ढोकैमा छ भनी जान।
[34] म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन।
[35] आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
[36] “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्नुहुन्छ।
[37] जसरी नूहको दिनमा भएको थियो, त्यसरी नै मानिसका पुत्रको आगमनमा पनि हुनेछ।
[38] किनकि जलप्रलय अघिका दिनहरूमा नूह जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए।
[39] अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुनेछ भनी थाहा नै थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ।
[40] दुईजना मानिसहरू खेतमा हुनेछन्; एकजना लगिनेछ, अनि अर्को छोडिनेछ।
[41] दुईजना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछे अनि अर्की छोडिनेछे।
[42] “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ।
[43] तर यो बुझिराख: यदि घरको मालिकले रातीको कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहने थिए, अनि तिनले आफ्नो घर फोरिन दिने थिएनन्।
[44] यसकारण तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेला आउनेछन्।
[45] “त्यसो भए त्यो विश्वासयोग्य र बुद्धिमान् सेवक को होला जसलाई त्यसका मालिकले घरका सेवकहरूलाई तिनीहरूका भोजन ठीक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्?
[46] उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकको लागि असल हुनेछ।
[47] म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
[48] तर यदि त्यो सेवक दुष्ट छ, अनि त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्यो,
[49] अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने,
[50] त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्।
[51] तिनले त्यसलाई टुक्रा-टुक्रा पारि काट्नेछन् र कपटीहरूको साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।