[1] उहाँले जब भीडलाई देख्नुभयो, उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँकहाँ आए।
[2] अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्नुभयो:
[3] “धन्य आत्मामा दीन हुनेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो।
[4] धन्य शोक गर्नेहरू, किनकि तिनीहरूले सान्त्वना पाउनेछन्।
[5] धन्य नम्रहरू, किनकि तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
[6] धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनकि तिनीहरू तृप्त हुनेछन्।
[7] धन्य दयावान्हरू, किनकि तिनीहरूले दया पाउनेछन्।
[8] धन्य हृदयमा शुद्ध हुनेहरू, किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
[9] धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
[10] धन्य धार्मिकताको निम्ति सतावटमा पर्नेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो।
[11] “तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्।
[12] तब आनन्द मनाओ र खुशी होओ, किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई यसरी नै तिनीहरूले सताएका थिए।
[13] “तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो ता बाहिर फालिन र मानिसहरूद्वारा कुल्चन बाहेक अरू कुनै काम लाग्दैन।
[14] “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको शहर लुक्न सक्दैन।
[15] न ता मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्छन्। तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्, अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ।
[16] यस्तै किसिमले, तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
[17] “म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइन, तर ती पूरा गर्न आएको हुँ।
[18] म तिमीहरूलाई यो साँच्चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन।
[19] कसैले यी आज्ञाहरूमध्ये एउटा सबैभन्दा सानोलाई उलङ्घन गर्छ अनि अरूलाई पनि त्यसै गर्न सिकाउँछ भने, ऊ स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ, तर जसले यी आज्ञाहरू पालन गर्छ अनि अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ।
[20] किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।
[21] “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अघि के भनिएको थियो, ‘हत्या नगर, अनि जसले हत्या गर्छ त्यसको न्याय गरिनेछ।’
[22] तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए बेवकुफ’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ।
[23] “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्ने सम्झना आयो भने,
[24] तिम्रो भेटी त्यही वेदीकै सामुन्ने छोड। पहिले जाऊ अनि तिम्रो भाइसित मिलाप गर: अनि आएर आफ्नो भेटी चढाऊ।
[25] “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसित बाटोमा हुँदै गरिहाल। नत्र ता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेलान्, अनि न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्, अनि तिमी झ्यालखानामा परौला।
[26] म तिमीलाई यो साँच्चै भन्छु, तिमीले एक-एक पैसा नतिरून्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।
[27] “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ।
[28] तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुनेछ।
[29] यदि तिमीहरूका दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ।
[30] अनि यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ।
[31] “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने, त्यसले उसलाई त्यागपत्र देओस्।’
[32] तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह-विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ, अनि जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।
[33] “फेरि मानिसहरूलाई धेरै अघि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’
[34] तर म तिमीहरूलाई भन्दछु शपथ खाँदै नखाओ: न ता स्वर्गको नाउँमा, किनकि यो ता परमेश्वरको सिंहासन हो:
[35] न ता पृथ्वीको नाउँमा, किनकि यो उहाँको पाउदान हो: न ता यरूशलेमको नाउँमा, किनकि यो महान् राजाको शहर हो।
[36] अनि तिम्रो शिरको शपथ नखाओ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
[37] खाली तिम्रो ‘हो’ चाहिँ ‘हो’ होस्, अनि ‘होइन’ चाहिँ ‘होइन’ नै होस्: यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ।
[38] “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको बदला आँखा अनि दाँतको बदला दाँत।’
[39] तर म तिमीहरूलाई भन्दछु, दुष्ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिमीहरूको दाहिने गालामा हिर्कायो भने, उसलाई अर्को गाला पनि थापिदेओ।
[40] अनि यदि कसैले मुद्दा चलाएर तिमीहरूको दौरा लिन खोज्छ भने, त्यसलाई तिमीहरूको खास्टो पनि दिइहाल।
[41] यदि कसैले तिमीहरूलाई कर लगाएर एक किलोमिटर जाऔं भन्छ भने, ऊसित दुई किलोमिटर गइदेओ।
[42] तिमीहरूसँग माग्नेलाई देओ, अनि तिमीहरूसित ऋण माग्नेलाई नाइँ नभन।
[43] “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर अनि तिम्रो शत्रुलाई घृणा गर।’
[44] तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर अनि तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर,
[45] र तिमीहरू स्वर्गमा हुनुभएको तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैको निम्ति सूर्य उदाइदिनुहुन्छ, अनि धार्मिक र अधार्मिक दुवैको निम्ति पानी पठाउनुहुन्छ।
[46] यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने, तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त के कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र?
[47] अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने, तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र?
[48] तिमीहरूका स्वर्गीय पिता जस्तो सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी होओ।