Skip to content
Opens in a new window
Listen to this chapter • 6:02

[1] येशूले फेरि तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दै यसो भन्‍नुभयो:

[2] “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्नो पुत्रको विवाहको लागि एउटा भोज तयार गरे।

[3] तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए, तर तिनीहरूले आउन अस्वीकार गरे।

[4] “तब तिनले अझ बढी सेवकहरू पठाएर भने, ‘ती निम्त्याइएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएको छ, अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ’ भन।

[5] “तर ती कसैले पनि ध्यान दिएनन्, अनि एकजना खेततिर, अर्को व्यापारतिर गइहाले।

[6] अरू रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे अनि मारे।

[7] राजा अति रिसाए। तिनले आफ्ना सेना पठाइकन ती हत्याराहरूलाई नष्‍ट पारिदिए, अनि तिनीहरूका शहरहरू जलाइदिए।

[8] “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउने योग्य ठहरिएनन्।

[9] सडकका कुनाहरूतिर जाओ, अनि जसलाई भेट्टाए पनि भोजमा आउने निम्तो देओ।’

[10] यसकारण ती सेवकहरू सडकतिर गए, अनि के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए, अनि विवाहको घर पाहुनाहरूले भरियो।

[11] “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, तिनले त्यहाँ विवाहको वस्त्र नलाएको एकजना मानिसलाई देखे।

[12] तिनले सोधे, ‘साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।

[13] “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हात खुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’

[14] “किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”

[15] त्यसपछि फरिसीहरू बाहिर गइहाले अनि येशूलाई उहाँकै कुरामा कसरी फसाऔं भनेर योजना बनाए।

[16] तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौं कि, तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न।

[17] हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”

[18] येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “तिमी कपटीहरू, किन मलाई फसाउने कोसिस गर्दैछौ?

[19] कर तिर्दा प्रयोग गर्ने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए।

[20] अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?”

[21] “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”

[22] जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे। अनि तिनीहरूले उहाँलाई छोडेर गइहाले।

[23] त्यही दिन, पुनर्जीवन हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए।

[24] तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भने कि, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसको लागि बालबच्‍चा जन्माउनुपर्छ।

[25] अब हामीहरू बीच सात भाइ थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो, अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी स्वास्‍नीलाई आफ्नो भाइको निम्ति छोड्नुपर्‍यो।

[26] त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित अनि सातौंसम्म नै घट्यो।

[27] अन्त्यमा त्यो स्त्री पनि मरी।

[28] अब पुनर्जीवनमा त्यो स्त्री सातजनामा कसकी पत्नी हुनेछे, किनकि ती सबैको त्यससँग विवाह भएको थियो?”

[29] येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्‍तिलाई नजानेकाले भ्रममा छौ।

[30] पुनर्जीवनमा मानिसहरू न विवाह गर्छन् न ता विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।

[31] तर मरेकाहरूको पुनर्जीवनको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ?

[32] ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, अनि याकोबका परमेश्‍वर हुँ।’ उहाँ मरेकाहरूको परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”

[33] जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्‍क परे।

[34] येशूले सदुकीहरूलाई चूप बनाइदिनुभयो भनेको सुनेर फरिसीहरू एकसाथ भेला भए।

[35] तीमध्ये एकजना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गर्‍यो:

[36] “हे गुरु, व्यवस्थामा कुनचाहिँ सबैभन्दा महान् आज्ञा हो?”

[37] येशूले जवाफ दिनुभयो: “ ‘तिमीले प्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले अनि आफ्नो सम्पूर्ण प्राणले अनि आफ्नो सम्पूर्ण मनले प्रेम गर।’

[38] यो पहिलो अनि सबैभन्दा महान् आज्ञा हो।

[39] अनि दोस्रो उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूका छिमेकीलाई आफूलाई झैं प्रेम गर।’

[40] सबै व्यवस्था र अगमवक्‍ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”

[41] जब फरिसीहरू एकसाथ भेला भएका थिए, येशूले तिनीहरूलाई सोध्नुभयो,

[42] “तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले जवाफ दिए, “दाविदका पुत्र।”

[43] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए दाविदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,

[44] “ ‘प्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हाततिर बस।” ’

[45] यदि दाविदले उहाँलाई ‘प्रभु’ भन्छन् भने, उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”

[46] यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन, अनि त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।

मत्ती — Chapters