[1] उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागेमा आइपुग्नुभयो, येशूले दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
[2] “तिमीहरूका सामुन्ने भएको गाउँमा जाओ, अनि त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधालाई त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ।
[3] यदि कसैले तिमीहरूलाई केही भन्यो भने, तिनीहरूलाई भन्नू कि, प्रभुलाई यिनीहरूको खाँचो छ, अनि तिनले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछन्।”
[4] यो अगमवक्ताद्वारा बोलिएको वचन पूरा हुनालाई भएको थियो:
[5] “यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदै हुनुहुन्छ, नम्र अनि गधामाथि सवार हुनुभएर, बछेडामाथि, गधाको बछेडामाथि।’ ”
[6] ती चेलाहरू गए अनि येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे।
[7] तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए, अनि येशू त्यसमाथि बस्नुभयो।
[8] एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए, अनि अरूले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए।
[9] उहाँको अघिजाने भीडहरूले र ती पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर कराए, “दाविदका पुत्रलाई होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “परमधाममा होसन्ना।”
[10] जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण शहरमा हलचल मच्चियो अनि तिनीहरूले सोधे, “यिनी को हुन्?”
[11] त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”
[12] येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो अनि त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो।
[13] अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार बनाइरहेका छौ।’ ”
[14] दृष्टिविहीन अनि हिँड्न नसक्नेहरू उहाँकहाँ मन्दिरमा आए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
[15] तर जब मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कामहरू देखे, अनि मन्दिरको इलाकामा बालबालिकाहरूले “दाविदका पुत्रलाई होसन्ना” भनेका सुने, तिनीहरू रिसाए।
[16] तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू अनि शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ’?”
[17] अनि उहाँ तिनीहरूलाई छोडेर शहरबाहिर बेथानीमा जानुभयो, जहाँ उहाँले रात बिताउनुभयो।
[18] एकाबिहानै, उहाँ जब शहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो।
[19] बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, अनि त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो।
[20] जब चेलाहरूले यो देखे, तिनीहरू छक्क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलाइहाल्यो?”
[21] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक’ भन्यौ भने, त्यो भइहाल्नेछ।
[22] तिमीहरूले विश्वास गर्यौ भने, तिमीहरूले प्रार्थनामा जे मागे पनि पाउनेछौ।”
[23] येशू मन्दिरका चोकहरूमा आउनुभयो, अनि, उहाँले शिक्षा दिँदैगर्दा मुख्य पूजाहारीहरू अनि जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?”
[24] येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने, म तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनी भन्नेछु।
[25] यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे अनि भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौं भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्वास गरेनौ’ भनी भन्नेछन्।
[26] तर यदि हामीले ‘मानिसबाट’ हो भन्यौं भने हामीलाई मानिसहरूको डर लाग्छ, किनकि तिनीहरू सबैले यूहन्नालाई अगमवक्ता भनी मान्छन्।”
[27] त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।” तब उहाँले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।
[28] “तिमीहरू के सोच्छौ? एकजना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गए अनि भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे।’
[29] “त्यसले जवाफ दियो, ‘म जान्नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्यो अनि गयो।
[30] “तब ती बुबा अर्को छोराकहाँ गए अनि त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन।
[31] “ती दुईमध्ये कसले बुबाले इच्छा गरेको कुरा गरे?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्।
[32] किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, अनि तिमीहरूले उनलाई विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेर विश्वास गरेनौ।
[33] “अर्को दृष्टान्त सुन: एकजना जमिनको मालिक थिए, जसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने, अनि एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिएर यात्रामा गए।
[34] जब कटनीको समय आयो, तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए।
[35] “तब ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे अनि तेस्रोलाई ढुङ्गाले हाने।
[36] अनि तिनले अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे।
[37] अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए। तिनले भने, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्।’
[38] “तर ती मोहीहरूले जब छोरालाई आउँदै गरेको देखे, तिनीहरूले आपसमा भने, ‘यो ता उत्तराधिकारी हो; आओ, यसलाई मारौं अनि उसको उत्तराधिकार हात पारौं।’
[39] यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
[40] “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?”
[41] तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्टहरूलाई दूर्दशापूर्वक अन्त्य गरिदिनेछन्, अनि त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनलाई तिनको भागको अन्न दिनेछन्।”
[42] येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए त्यही कुनाको मुख्य ढुङ्गो बन्यो; प्रभुले नै यो गर्नुभएको हो, अनि यो हाम्रा दृष्टिमा अचम्मको छ’?
[43] “यसकारण म तिमीहरूलाई भन्दछु, कि परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ अनि यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ।
[44] जो यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि यो खस्छ, त्यो धूलोपीठो हुनेछ।”
[45] जब मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूको यो दृष्टान्त सुने, तिनीहरूले उहाँले त तिनीहरूकै विषयमा भन्दैहुनुहुन्छ भनी जाने।
[46] तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे।