Skip to content
Opens in a new window
Listen to this chapter • 6:35

[1] येशू डुङ्गामा चढ्नुभयो, अनि पारि तरेर आफ्नै शहरमा आउनुभयो।

[2] केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एकजना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूका विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर: तिम्रा पापहरू क्षमा भएका छन्।”

[3] यो देखेर व्यवस्थाका केही शिक्षकहरूले आफैमा यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।”

[4] तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ?

[5] के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु?

[6] तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” त्यसपछि उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाएर घरमा जाऊ।”

[7] अनि त्यो मानिस उठ्यो र घर गयो।

[8] जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो अधिकार दिनुभएकोमा उहाँको प्रशंसा गरे।

[9] येशू जब त्यहाँबाट अघि बढ्नुभयो, उहाँले मत्ती नाउँ भएको एकजना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेको देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँलाई पछ्याए।

[10] येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरैजना कर उठाउनेहरू र पापीहरू आए, अनि उहाँ र उहाँका चेलाहरूसित खाए।

[11] जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”

[12] यो सुनेर येशूले भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।

[13] तर जाऊ, अनि यसको अर्थ के हो सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”

[14] तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौं, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्, किन यस्तो?”

[15] येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, अनि त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।

[16] “कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन; किनकि नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, अनि त्यो फटाइ झन् नराम्रो हुन्छ।

[17] न ता मानिसहरूले नयाँ दाखमद्य पुरानो छालाको थैलोमा खन्याउँछन्। यदि तिनीहरूले त्यसो गरे भने, छालाहरू फुट्छन्; अनि दाखमद्य पोखिन्छ र छालाको थैलो नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ छालाको थैलोमै राख्नुपर्दछ र दुवै जोगिन्छन्।”

[18] येशूले यी कुराहरू भनिरहनुहुँदा एकजना शासकले उहाँकहाँ आएर उहाँको अघि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरे, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस् र त्यो बाँच्नेछे।”

[19] येशू उठेर तिनीसित जानुभयो, अनि उहाँका चेलाहरू पनि गए।

[20] ठीक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।

[21] तिनले मनमनै यसो भनिन्, “यदि मैले उहाँको वस्त्रमात्र छोएँ भने पनि म निको हुनेछु।”

[22] येशू पछि फर्कनुभयो, अनि तिनलाई देख्नुभयो। उहाँले भन्‍नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि ती स्त्री त्यसै घडी निको भइन्।

[23] जब येशू त्यस शासकको घरमा पस्‍नुभयो, उहाँले शोकधुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूको भीडलाई देख्नुभयो।

[24] अनि भन्‍नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर सुतेकी छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए।

[25] भीडलाई बाहिर निकालिसकेपछि उहाँ भित्र पस्‍नुभयो, अनि त्यस केटीको दाहिने हात समात्नुभयो, अनि त्यो उठी।

[26] यो कुराको खबर त्यस मुलुकभरि फैलियो।

[27] अनि येशू जब त्यहाँबाट अघि बढ्नुभयो, दुईजना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”

[28] जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौं प्रभु।”

[29] तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई यस्तै होस्।”

[30] अनि तिनीहरूले दृष्‍टि पाए। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।”

[31] तर तिनीहरू गइहाले अनि उहाँको बारेमा खबर सारा मुलुकभरि फिँजाए।

[32] उहाँहरू जाँदै गर्नुहुँदा एकजना भूत लागेको अनि बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो।

[33] अनि जब भूत निकालियो, त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।”

[34] तर फरिसीहरूले भने, “यिनले ता भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”

[35] येशूले सबै शहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।

[36] भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैं हैरान भएका र असहाय थिए।

[37] अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।

[38] त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतबारीमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”

मत्ती — Chapters