[1] राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए
[2] र सोधे, “यहूदीहरूका राजा भएर जन्मनुभएको कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौं र हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।”
[3] त्यस बेला राजा हेरोदले जब यो सुने, तिनी र यरूशलेममा भएका सबै विचलित भए।
[4] अनि तिनले सबै मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए र ख्रीष्टको जन्म कहाँ भएको हो भनी सोधे।
[5] तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यसरी लेखेका छन्:
[6] “ ‘तर यहूदा प्रदेशमा भएको बेथलेहेम, तिमी कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनौ; किनकि तिमीबाट एकजना शासक आउनुहुनेछ जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’ ”
[7] तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाएर तारा देखा परेको ठीक समय पत्ता लगाए।
[8] अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ अनि होसियारीसाथ बालकलाई खोज। तिमीहरूले तिनलाई भेट्टाउने बित्तिकै मलाई भन र म पनि गएर तिनलाई दण्डवत् गर्नेछु।”
[9] राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे, अनि तिनीहरूले पूर्वमा देखेको त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अघि लाग्यो।
[10] जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।
[11] घरमा आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।
[12] त्यस रात हेरोदकहाँ नजानू भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।
[13] तिनीहरू गइसकेपछि प्रभुको एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्ट देशमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीं बस, किनकि हेरोदले बालकलाई खोजेर मार्न खोज्दैछ।”
[14] यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राती नै इजिप्ट देशतिर प्रस्थान गरे,
[15] जहाँ तिनीहरू हेरोदको मृत्यु नभईन्जेल रहे। अनि यसरी परमेश्वरले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्ट देशबाट बोलाएँ।”
[16] जब ज्योतिषीहरूद्वारा आफू ठगिएको हेरोदले थाहा पाए, तब तिनी औधी रिसाए अनि ज्योतिषीहरूद्वारा ठीक पत्तो लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए।
[17] तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:
[18] “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूको निम्ति रोएकी अनि तिनी शान्त हुन नमानेकी, किनकि तिनीहरू अब रहेनन्।”
[19] हेरोदको मृत्युपछि, प्रभुको एउटा दूत इजिप्ट देशमा सपनामा योसेफकहाँ देखा परे,
[20] अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको मुलुकमा जाऊ, किनकि बालकको जीवन लिन चाहनेहरू मरिसकेका छन्।”
[21] अनि तिनी उठे, बालक र तिनकी आमालाई लिई इस्राएलको मुलुकमा गए।
[22] तर जब तिनले हेरोदको ठाउँमा तिनका पिताको ठाउँमा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको जिल्लामा गए।
[23] अनि तिनी नासरत भन्ने शहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”