Skip to content
Opens in a new window
Listen to this chapter • 4:44

[1] छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पर्वतमा लानुभयो।

[2] त्यहाँ तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैं चम्क्यो, अनि उहाँको वस्त्र ज्योतिझैं सेता भए।

[3] त्यसै बेला तिनीहरूका सामुन्‍ने मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे।

[4] पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीं रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीनओटा वासस्थान बनाउनेछु; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।”

[5] तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो, अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!”

[6] जब चेलाहरूले यो सुने, तिनीहरू डरले घोप्टो परेर भुइँमा लडे।

[7] तर येशूले आएर तिनीहरूलाई छुनुभयो अनि भन्‍नुभयो, “उठ, नडराओ।”

[8] जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्।

[9] उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”

[10] चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”

[11] येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्।

[12] तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि तिनीहरूले तिनलाई चिन्‍न सकेनन्, तर तिनलाई तिनीहरूले मनपरी व्यवहार गरे। यस्तै किसिमले मानिसका पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछन्।”

[13] तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे।

[14] जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, एकजना मानिसले येशूकहाँ आएर उहाँको सामुन्‍ने घुँडा टेकेर भन्यो,

[15] “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, अनि उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ।

[16] मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ तर तिनीहरूले यसलाई निको पार्न सकेनन्।”

[17] येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।”

[18] येशूले त्यस भूत आत्मालाई हप्काउनुभयो, अनि त्यो त्यस केटोबाट निस्किएर गयो, अनि त्यो केटो त्यसै घडीदेखि निको भयो।

[19] तब चेलाहरू गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौं?”

[20] उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, अनि त्यो हटिजानेछ। तिमीहरूको लागि कुनै कुरो पनि असम्भव हुनेछैन।

[21] तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।”

[22] जब उहाँहरू एकसाथ गालीलमा आउनुभयो, येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछन्।

[23] तिनीहरूले उसलाई मार्नेछन्, अनि तेस्रो दिनमा उहाँ जीवित पारिनुहुनेछ छ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।

[24] येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?”

[25] तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?”

[26] पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त तिर्नु नपर्ने रहेछ।

[27] तरै पनि तिनीहरू नचिढिऊन् भनेर, जाऊ अनि तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ; यसको मुख खोल र तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्यो लगेर तिम्रो अनि मेरो कर भनेर तिनीहरूलाई दिइहाल।”

मत्ती — Chapters