[1] अनि यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे,
[2] “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानुअघि आफ्ना हात धुँदैनन्।”
[3] येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूले चाहिँ आफ्ना परम्पराको निम्ति किन परमेश्वरको आज्ञा भङ्ग गर्छौ?
[4] किनकि परमेश्वरले भन्नुभयो, ‘आफ्ना बुबाआमालाई आदर गर’ अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ त्यो मारिनुपर्छ।’
[5] तर तिमीहरू भन्छौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो त्यो परमेश्वरलाई चढाइसकिएको छ’ भन्यो भने,
[6] त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको निम्ति परमेश्वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।
[7] तिमी कपटीहरू! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए:
[8] “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढो छ।
[9] तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’ ”
[10] अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “सुन र बुझ।
[11] जे मानिसको मुखबाट भित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ पार्दछ।”
[12] तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा छ?”
[13] उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोप्नु भएको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ।
[14] तिनीहरूलाई छोडिदेओ; ती दृष्टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउँछ भने दुवै खाडलमा पर्नेछन्।”
[15] पत्रुसले भने, “यस दृष्टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।”
[16] येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझ यतिका अबुझ छौ?
[17] जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?
[18] तर जे कुरा मुखबाट बाहिर निस्कन्छ त्यो हृदयबाट आउँछ, अनि यसैले मानिसलाई अशुद्ध पार्छ।
[19] किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
[20] यिनीहरूले नै मानिसलाई अशुद्ध बनाउँछन्, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
[21] त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकामा जानुभयो।
[22] त्यसका छेउछाउबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दाविदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूत आत्मा लागेको छ र साह्रै ग्रस्त पारेको छ।”
[23] येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर विन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आउँदैछे।”
[24] उहाँले जवाफ दिनुभयो, “म खाली इस्राएलका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”
[25] त्यस स्त्रीले उहाँकहाँ आई र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”
[26] उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अघि फालिदिनु उचित होइन।”
[27] त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
[28] तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।
[29] येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनार भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्नुभयो।
[30] त्यहाँ ठूला भीडहरू उहाँकहाँ हिँड्न नसक्ने, दृष्टिविहीन, अपाङ्ग, बोल्न नसक्ने अनि अरू धेरैलाई लिएर आए, र उहाँका पाउमा राखिदिए; अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो।
[31] जब मानिसहरूले बोल्न नसक्नेहरूले बोलेका, अपाङ्गहरू ठीक भएका, हिँड्न नसक्नेहरू हिँडेका अनि दृष्टिविहीनहरूले देखेका देखे तब तिनीहरू छक्क परे; अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे।
[32] येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु, तिनीहरू हामीसित तीन दिनदेखि छन्, अनि तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्र ता यिनीहरू बाटैमा मूर्छा पर्लान्।”
[33] उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस अनकन्टार ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौंला?”
[34] येशूले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्?” तिनीहरूले जवाफ दिए “सातओटा, अनि ससाना केही माछाहरू।”
[35] उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो।
[36] तब उहाँले ती सातओटा रोटी र माछा लिनुभयो, अनि धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले मानिसहरूलाई दिए।
[37] तिनीहरू सबैले खाए अनि अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
[38] खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरू छोडेर करीब चार हजार पुरुषहरू थिए।
[39] भीडहरूलाई पठाइसक्नुभएपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।