[1] “त्यस समय स्वर्गको राज्य दश जना कन्याहरू जस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिए अनि दुलहालाई भेट्न गए।
[2] तीमध्ये पाँचजना निर्बुद्धिहरू र पाँचजना बुद्धिमतीहरू थिए।
[3] ती निर्बुद्धिहरूले बत्ती त लगे तर तेल लगेनन्।
[4] तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे।
[5] दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, अनि भुसुक्क निदाए।
[6] “मध्यरातमा एउटा सोर सुनियो: ‘लौ दुलहा यहाँ छन्! उनलाई भेट्न निस्किआओ!’
[7] “तब सबै कन्याहरू उठे, अनि आफ्ना बत्तीहरू ठीक पारे।
[8] ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
[9] “तिनीहरूले जवाफ दिए, ‘हुँदैन, शायद हाम्रो र तिमीहरू दुवैको लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्नै लागि केही किन।’
[10] “तर जब तिनीहरू तेल किन्न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
[11] “पछिबाट ती अरू पनि आए अनि भने, ‘प्रभु! प्रभु! हाम्रो लागि ढोका खोलिदिनुहोस्!’
[12] “तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
[13] “यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
[14] “फेरि स्वर्गको राज्य, यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर आफ्ना सम्पत्ति जिम्मा दिए।
[15] तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्का, अर्कोलाई दुई झोला सुनका सिक्का अनि अर्कोलाई एक झोला सुनका सिक्का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे।
[16] पाँच झोला सुनका सिक्का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो, अनि अरू पाँच झोला कमायो।
[17] दुई झोला सुनका सिक्का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो।
[18] तर एक झोला सुनका सिक्का पाउने मानिस गयो, अनि भुइँमा खनेर उसका मालिकको धन लुकायो।
[19] “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए अनि तिनीहरूसित हिसाब मागे।
[20] पाँच झोला सुनका सिक्का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच कमाएँ।’
[21] “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको रमाहटमा सहभागी बन्!’
[22] “दुई झोला सुनका सिक्का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई कमाएँ।’
[23] “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको रमाहटमा सहभागी बन्!’
[24] “त्यसपछि एक झोला सुनको सिक्का पाउने मानिस आयो। त्यसले भन्यो ‘हजुर, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने अनि बीउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।
[25] तसर्थ म डराएँ, अनि गएर तपाईंको सुन भुइँमा लुकाएँ। हेर्नुहोस्, तपाईंको त्यो सामान यहाँ छ।’
[26] “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी, गर्छु अनि बीउ नरोपेको ठाउँमा बटुल्छु भन्ने तँलाई थाहा थियो?
[27] त्यसो भए, तैंले मेरो धन साहुकहाँ राख्नुपर्ने थियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउने थिएँ।
[28] “ ‘त्यसबाट त्यो सुनको सिक्काको झोला लेओ र जससित दश झोला छ त्यसलाई देओ।
[29] किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, अनि त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
[30] अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
[31] “जब मानिसका पुत्र आफ्नो महिमामा आफ्ना सबै दूतहरूसित आउनेछन्, महिमामय सिंहासनमा बस्नेछन्।
[32] सारा राष्ट्रहरू उसको अघि भेला गराइनेछन्, अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैं तिनले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्नेछन्।
[33] तिनले भेडाहरूलाई आफ्नो दाहिनेतिर अनि बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछन्।
[34] “तब आफ्ना दाहिनेतिरकाहरूलाई राजाले भन्नेछन्, ‘आओ, मेरा पिताका धन्यहरू; संसारको उत्पत्तिदेखि तिमीहरूको लागि तयार पारिएको राज्य, तिमीहरूको उत्तराधिकार लेओ।
[35] किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खानेकुरा दियौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउने कुरा दियौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ,
[36] मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्यायौ, म बिरामी थिएँ र तिमीहरू मलाई हेर्न आयौ, म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौ।’
[37] “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौं र खुवायौं, अथवा तिर्खाएका देख्यौं र पिउन दियौं?
[38] हामीले तपाईंलाई कहिले परदेशी देख्यौं र भित्र स्वागत गर्यौं अथवा वस्त्रको अभावमा अनि पहिर्यायौं?
[39] हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौं अनि तपाईंलाई भेट्न गयौं?’
[40] “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
[41] “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूको लागि तयार पारिएको अनन्तको आगोमा गइहाल।
[42] किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खान दिएनौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउन दिएनौ,
[43] म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ, मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्याएनौ, म बिरामी र झ्यालखानामा थिएँ, अनि तिमीहरूले मेरो हेरचाह गरेनौ।’
[44] “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौं अनि तपाईंलाई सहायता दिएनौं?’
[45] “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
[46] “तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मीहरू अनन्तको जीवनमा जानेछन्।”