Skip to content
Opens in a new window
Listen to this chapter • 11:56

[1] जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

[2] “तिमीहरूलाई थाहा भएझैं, निस्तार चाड आउन अब दुई दिन मात्र छ, अनि मानिसका पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछन्।”

[3] तब मुख्य पूजाहारीहरू र जनताका प्रधानहरू, कैयाफा नाउँ भएको प्रधान पूजाहारीको महलमा भेला भए।

[4] अनि तिनीहरूले येशूलाई छल गरेर पक्रने अनि मार्ने षड्यन्त्र गरे।

[5] तिनीहरूले भने, “तर चाडको समयमा त होइन, नत्र ता कतै मानिसहरूमा दङ्गा होला।”

[6] येशू बेथानीमा सिमोन नाउँ भएको कुष्‍ठरोगीको घर हुनुहुँदा,

[7] एउटी स्त्री संगमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्, अनि उहाँ खान बस्‍नुभएको बेला उहाँको शिरमा खन्याइन्।

[8] जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यो किन खेर फालेको?

[9] यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”

[10] त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? यसले मेरो लागि एउटा असल काम गरेकी छ।

[11] गरिबहरू त सधैं तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैं पाउनेछैनौ।

[12] जब यो अत्तर यसले मेरो शरीरमा खन्याएर, यसले मलाई गाड्ने तयारीको निम्ति गरेकी छ।

[13] म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिनेछ, यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनाको निम्ति भनिनेछ।”

[14] त्यसपछि बाह्रजनामध्येको एकजना जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, मुख्य पूजाहारीहरूकहाँ गयो,

[15] अनि सोध्यो, “यदि मैले येशूलाई तिमीहरूको हातमा सुम्पिदिएँ भने तिमीहरू मलाई के दिन राजी छौ?” तब तिनीहरूले उसको लागि तीसओटा चाँदीका सिक्‍काहरू गनिदिए।

[16] त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो।

[17] अखमीरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंको निम्ति निस्तार चाडको भोज तयार पारौं भन्‍ने तपाईं चाहनुहुन्छ?”

[18] उहाँले जवाफ दिनुभयो, “शहरमा कुनै मानिसकहाँ जाओ अनि उसलाई भन, ‘गुरु भन्‍नुहुन्छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ”

[19] अनि चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे र निस्तार चाडको भोज तयार गरे।

[20] जब साँझ पर्‍यो, येशू बाह्रै जनासित टेबुलमा ढल्किरहनुभएको थियो।

[21] अनि उहाँहरूले खाइरहनुहुँदा उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।”

[22] तिनीहरू अति दुःखी भए अनि एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, त्यो निश्‍चय म ता होइन?”

[23] अनि येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसैले मलाई धोका दिनेछ।

[24] मानिसको पुत्र त मेरो विषयमा लेखिएअनुसार नै जानेछु। तर धिक्‍कार त्यस मानिसलाई जसले, मानिसका पुत्रलाई धोका दिनेछ! त्यो ता नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”

[25] तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, त्यो निश्‍चय म ता होइन?” येशूले जवाफ दिनुभयो, “तिमी नै हौ।”

[26] जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”

[27] त्यसपछि उहाँले कचौरा लिएर धन्यवाद दिनुभयो, अनि यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।

[28] यो करारको मेरो रगत हो, जो धेरैको पाप क्षमाको लागि बहाइन्छ।

[29] म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म दाखको फलबाट पिउनेछैनँ।”

[30] एउटा भजन गाइसक्नुभएपछि, उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।

[31] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसै रात मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, अनि बगालका भेडाहरू तितरबितर हुनेछन्।’

[32] तर म जीवित भई उठेपछि, म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।”

[33] पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मैले कहिले पनि त्याग्नेछैनँ।”

[34] येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राती नै भाले बास्‍नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”

[35] तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यसै भने।

[36] तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीं बसिरहो।”

[37] उहाँले पत्रुस अनि जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, अनि उहाँ दुःखित र विचलित हुन थाल्नुभयो।

[38] तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण दुःखले मरेतुल्य भएको छ। यहीं बस र मसित जागा रहो।”

[39] अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्, तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”

[40] तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो अनि तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ?

[41] जागा रहो अनि प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपर। आत्मा त तयार छ, तर शरीर कमजोर छ।”

[42] उहाँ दोस्रोपल्ट पर जानुभयो अनि प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिइकन यो कचौरा हटाइनु सम्भव छैन भने, तपाईंको इच्छा पूरा होस्।”

[43] जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।

[44] यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याई प्रार्थना गर्नुभयो।

[45] तब उहाँ चेलाहरूकहाँ फर्कि आएर तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका अनि विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसका पुत्रलाई पापीहरूको हातमा सुम्पिइँदैछन्।

[46] उठ! हामी जाऔं! हेर मलाई पक्राइदिने आउँदैछ!”

[47] उहाँ बोलिरहनुभएकै बेला, बाह्रजनामध्येको एकजना यहूदा आइपुग्यो। ऊसित मुख्य पूजाहारीहरू र समाजका प्रधानहरूद्वारा पठाइएको ठूलो भीड हातमा तरवार र लाठीहरू लिएर आएको थियो।

[48] अब त्यस धोकेबाजले तिनीहरूसित एउटा सङ्केत मिलाएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्राउ गर।”

[49] यहूदा तुरुन्तै येशूकहाँ गयो, अनि “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।

[50] येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आयौ त्यो गरिहाल।” तब ती मानिसहरू अघि बढेर, येशूलाई पक्रे र गिरफ्तार गरे।

[51] त्यसो हुँदा येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार निकाले अनि प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्‍यो र उसको कान च्वाट्टै काटिदियो।

[52] येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा राख; किनकि जसले तरवार लिन्छ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ।

[53] तिमीहरू के सम्झन्छौ, के म आफ्ना पितासित मेरो अधीनतामा बाह्र पल्टनभन्दा बढी दूतहरू झट्टै राखिदिनको लागि विन्ती गर्न सक्दिनँ र?

[54] तर त्यसो भयो भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?”

[55] त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू मलाई पक्रन तरवार र लाठीहरू लिएर आउनुभयो? म ता दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थें, अनि तपाईंहरूले मलाई पक्रनुभएन।

[56] तर यी सबै अगमवक्‍ताहरूले लेखेका कुराहरू पूरा हुनालाई नै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई त्यागेर भागिहाले।

[57] येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए।

[58] तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पूजाहारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे।

[59] मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नको लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए।

[60] तर धेरै झूटा साक्षीहरू अघि सरेर आए तापनि तिनीहरूले एउटै पनि पाएनन्। आखिरमा दुईजनाले अघि सरेर

[61] घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”

[62] तब प्रधान पूजाहारी उठे र येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”

[63] तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाउँमा भन्छु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।”

[64] येशूले जवाफ दिनुभयो, “हो, जस्तो तपाईंहरूले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्‍तिमानको दाहिने हातपट्टि बसिरहेका, र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ।”

[65] तब प्रधान पूजाहारीले आफ्नो वस्त्रहरू च्याते अनि भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो।

[66] तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।”

[67] तब तिनीहरूले उहाँको अनुहारमा थुके अनि मुक्‍का लगाए। अरूले थप्पड लगाएर

[68] भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”

[69] अब पत्रुस बाहिरको चोकमा बसिरहेका थिए। अनि एउटी सेविका केटी तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।”

[70] तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।”

[71] तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविका केटीले देखी अनि त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”

[72] तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।”

[73] केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो भाषा-शैलीले त्यही भन्छ।”

[74] तब तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दिनँ।” तत्कालै भाले बास्यो।

[75] तब पत्रुसले तिनलाई येशूले यसो भन्‍नुभएको यो वचन सम्झे, “भाले बास्‍नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी बाहिर गएर धुरुधुरु रोए।

मत्ती — Chapters