[1] “होसियार बस, तिमीहरूका धर्मकर्महरू मानिसहरूले देखून् भनी तिनीहरूका सामु नगर। त्यसो गर्यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै प्रतिफल पाउनेछैनौ।
[2] “यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघरहरूमा र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैं तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्छु, तिनीहरूले आफ्नो प्रतिफल पूरा पाइसकेका छन्।
[3] जब तिमी खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्,
[4] र तिम्रो दान गुप्तमा होस्; ताकि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
[5] “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ, किनकि तिनीहरू अरू मानिसहरूद्वारा देखिनलाई सभाघरहरू अनि सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई यो साँचो कुरा भन्छु, तिनीहरूले आफ्ना प्रतिफल पूरा पाइसकेका छन्।
[6] तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो कोठामा गएर ढोका बन्द गर, अनि तिमीहरूका गोप्यमा हुनुहुने पितालाई प्रार्थना गर। तब गोप्य रूपमा गरिएका कामहरू देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
[7] अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैं नबरबराउनु, किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्।
[8] तिनीहरूजस्ता नबन, किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भनी तिमीहरूका पिताले जान्नुहुन्छ।
[9] “तब तिमीहरू यसरी प्रार्थना गर: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
[10] तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
[11] आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
[12] हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
[13] अनि हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदा-सर्वदा तपाईंकै हुन्।’
[14] किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ।
[15] तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने ता, तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।
[16] “जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस, किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरो भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्।
[17] तर जब तिमीहरू उपवास बस्दछौ तब शिरमा तेल लगाओ, अनि आफ्नो मुख धोओ,
[18] र तिमीहरू उपवास बसेका छौ भनेर कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
[19] “आफ्नो निम्ति पृथ्वीमा धन नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ अनि चोरले फोरेर चोरिदिन्छ।
[20] तर आफ्नो निम्ति धन स्वर्गमा थुपार, जहाँ कीरा र खियाले नष्ट पार्दैन अनि चोरले फोरेर चोरी लैजाँदैन।
[21] किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुनेछ।
[22] “शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा ठीक छन् भने, तिमीहरूको सम्पूर्ण शरीर पनि ज्योतिले पूर्ण हुन्छ।
[23] तर यदि तिमीहरूका आँखा नै खराब छन् भने, तिमीहरूको सम्पूर्ण शरीर नै घोर अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने, त्यो अँध्यारो कति बढी हुन्छ!
[24] “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यो एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
[25] “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको निम्ति तिमीहरू के खाऔंला वा पिऔंला अथवा आफ्नो शरीरको निम्ति के पहिरौंला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
[26] आकाशका चराहरूलाई हेर: तिनीहरू न ता छर्दछन्, न कटनी गर्दछन्, न ता भकारीमा बटुल्दछन्, तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
[27] के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एक क्षण थप्न सक्छ र?
[28] “अनि लुगाहरूको विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन् अनि धागो पनि कात्दैनन्,
[29] र पनि म तिमीहरूलाई भन्दछु, कि राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जत्ति पनि सिँगारिएका थिएनन्।
[30] यदि आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, हे अल्पविश्वासीहरूहो, उहाँले के तिमीहरूलाई अझ बढी आभूषित गर्नुहुनेछैन र?
[31] यसकारण ‘हामी के खाऔंला?’ अथवा ‘हामी के पिऔंला?’ अथवा ‘हामी के लगाऔंला?’ भनी फिक्री नगर।
[32] किनकि गैरयहूदीहरू पो यस्ता कुराहरूको पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
[33] तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, अनि यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
[34] यसकारण भोलिको फिक्री नगर, किनकि भोलिको फिक्री त्यसैले गर्छ। प्रत्येक दिनको आफ्नै कष्ट प्रशस्त छ।