[1] जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।
[2] कुष्ठरोग लागेको एकजना मानिस आएर उहाँको अघि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
[3] येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको होइजाऊ!” अनि तुरुन्तै ऊ आफ्नो कुष्ठरोगबाट निको भइहाल्यो।
[4] तब येशूले त्यसलाई भन्नुभयो, “यो कुरो कसैलाई नभन, तर जाऊ, आफैलाई पूजाहारीकहाँ देखाऊ; अनि तिनीहरूलाई साक्षीको लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”
[5] जब येशू कफर्नहुममा आउनुभयो, एकजना कप्तानले उहाँकहाँ आएर सहायता मागे।
[6] तिनले भने, “हे प्रभु, घरमा मेरो सेवक पक्षघातको रोगले धेरै कष्ट पाइरहेको छ।”
[7] येशूले तिनलाई भन्नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”
[8] तब कप्तानले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो सेवक निको हुनेछ।
[9] किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज’ भन्छु अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु अनि त्यसले त्यो गर्छ।”
[10] यो सुनेर येशू आश्चर्य चकित हुनुभयो, अनि आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो कुरा भन्दछु, मैले यति ठूलो विश्वास इस्राएलीहरूमा कसैमा पनि भेट्टाइनँ।
[11] म तिमीहरूलाई भन्दछु, कि धेरैजना पूर्व र पश्चिमबाट आउनेछन्, अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्नेछन्।
[12] तर राज्यका सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
[13] तब येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
[14] जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो।
[15] उहाँले तिनको हात छुनुभयो, अनि ज्वरोले तिनलाई छोडिहाल्यो, अनि उठेर तिनले उहाँको सेवा गरिन्।
[16] जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो, अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, अनि सबै रोगीहरूलाई निको पार्नुभयो।
[17] यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”
[18] आफ्नो चारैतिर भीडलाई देखेर येशूले तालको पारिपट्टि जाने आज्ञा दिनुभयो।
[19] तब एकजना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंलाई पछ्याउनेछु।”
[20] येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर, मानिसका पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
[21] अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको अन्त्येष्टि गर्न जान दिनुहोस्।”
[22] तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, अनि मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”
[23] तब उहाँ डुङ्गामा चढ्नुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्याए।
[24] अचानक तालमा एउटा डरलाग्दो आँधी आयो, अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो, तर येशू त निदाइरहनुभएको थियो।
[25] चेलाहरू उहाँकहाँ गएर यसो भन्दै उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौं!”
[26] अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्वासीहरूहो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, अनि बतास र छालहरूलाई हकार्नुभयो, अनि बतास पूर्ण रूपले थामियो।
[27] ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरूसमेतले यिनको आज्ञा मान्दा रहेछन्।”
[28] जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो।
[29] तिनीहरूले चिच्याएर यसो भने, “हे परमेश्वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अघि नै हामीलाई सताउन आउनुभएको हो?”
[30] त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो।
[31] ती भूत आत्माहरूले येशूसित यसरी विन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र पठाउनुहोस्।”
[32] अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे, अनि सम्पूर्ण बगाल भीरबाट हुर्रिदै गएर तालमा खसे, र पानीमा डुबेर मरे।
[33] ती सुँगुर चराउनेहरू दगुरेर गई शहरमा पुगेर जे-जे घटना भए, साथै त्यो भूत लागेकोलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई भनिदिए।
[34] तब सारा शहर नै गएर येशूलाई भेटे। अनि जब तिनीहरूले उहाँलाई भेटे, उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न विन्ती गरे।