Skip to content
Opens in a new window
Listen to this chapter • 6:47

[1] त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो; यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाको इलाकामा तितरबितर भए।

[2] परमेश्‍वरका जनहरूले स्तिफनसलाई चिहानमा गाडे र उनको मृत्युमा गहिरो शोक मनाए।

[3] तर शाऊलले भने मण्डलीलाई नष्‍ट गरिरहेका थिए; तिनले पुरुषहरू र महिलाहरूलाई घर-घरबाट बाहिर घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्‍दथे।

[4] ती तितरबितर भएर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए।

[5] फिलिप सामरियाको एउटा शहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले।

[6] जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, र उनले गरेका अद्भुतका चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए।

[7] धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के, र धेरै पक्षघातका रोगीहरू र हिँड्न नसक्‍नेहरू निको पारिए।

[8] त्यसरी त्यस शहरमा ठूलो आनन्द छायो।

[9] त्यसै शहरमा केही समयदेखि सिमोन नाउँको मानिसले जादुगरी गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्‍ति भएको दाबी गर्थ्यो।

[10] साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यी मानिस परमेश्‍वरका शक्‍ति, जसलाई महाशक्‍ति हो।” भनी मान्दथे।

[11] तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई उसले आफ्नो जादुहरूले अचम्म पारेको थियो।

[12] तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नाउँको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब स्त्री-पुरुष सबैले बप्‍तिस्मा लिए।

[13] सिमोन आफैले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा, ऊ पनि सँगै गयो र आफूले देखेका ठूला अद्भुतका चिन्हहरू र शक्‍तिशाली कामहरू देखेर छक्‍क पर्‍यो।

[14] जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए।

[15] जब तिनीहरू त्यहाँ आइपुगे, ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे,

[16] किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाउँमा तिनीहरूले खाली बप्‍तिस्मा मात्रै लिएका थिए।

[17] त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, अनि तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे।

[18] प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, उसले तिनीहरूलाई पैसा दिन चाह्‍यो,

[19] र भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, जसले गर्दा मैले पनि जसमाथि हात राख्छु, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्।”

[20] यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्, किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोच्यौ!

[21] यस सेवा कार्यमा तिम्रो सहभागीता वा कुनै हिस्सा छैन; किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठीक छैन।

[22] यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार शायद उहाँले क्षमा गरिदिनुहुनेछ।

[23] किनकि म देख्दैछु, कि तिमी तीतोपनाले भरिपूर्ण छौ र पापका बन्दी भएका छौ।”

[24] यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, जसले गर्दा तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि नआओस्।”

[25] जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, र त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्‍ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार पनि गर्दैगए।

[26] त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकतिर तिमी जाऊ।”

[27] अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एकजना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए,

[28] र घर फर्किदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्‍ता यशैयाको पुस्तक पढिरहेका थिए।

[29] फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “त्यो रथको नजिक सँगसँगै जाऊ।”

[30] अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्‍ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?”

[31] “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्ले, र आफूसँगै बस्‍ने आग्रह गरे।

[32] ती नपुंसक पवित्रशास्‍त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैं लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चूप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।

[33] उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”

[34] नपुंसकले फिलिपसँग सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्‍ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?”

[35] त्यसपछि फिलिपले पवित्रशास्‍त्रको त्यही पदबाट सुरु गर्दै येशूको सुसमाचार तिनलाई भने।

[36] तिनीहरू बाटोमा जाँदाजाँदै, केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीं गरिदिनुहुन्‍न?”

[37] फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।”

[38] अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए।

[39] जब तिनीहरू पानीबाट बाहिर आए, प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो र त्यसपछि नपुंसकले फिलिपलाई फेरि देखेनन्; र तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे।

[40] तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै शहरहरूमा सुसमाचार प्रचार गरे।

प्रेरित — Chapters