[1] राजा हेरोदले त्यो समयमा मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे।
[2] उनले यूहन्नाका भाइ याकोबलाई तरवारले मारेका थिए।
[3] यस कुराले यहूदीहरू खुशी भएको देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमीरी रोटीको चाडको समयमा घटेको थियो।
[4] उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले, र चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे।
[5] यसकारण पत्रुसलाई झ्यालखानामा राखियो; तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो।
[6] हेरोदले उनको न्याय गर्ने अघिल्लो रातमा, पत्रुस दुईओटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए।
[7] अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे, र त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए।
[8] त्यसपछि त्यो स्वर्गदूतले उनलाई भने, “तिम्रो चप्पल र लुगाहरू लगाऊ!” अनि पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” भनी दूतले उनलाई भने।
[9] पत्रुस झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए, त्यो स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने।
[10] तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर शहरतिर जाने फलामे ढोकामा आइपुगे। तिनीहरूका निम्ति यो ढोका आफै खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए।
[11] त्यसपछि पत्रुस होशमा आएपछि भने, “अब मलाई पक्का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”
[12] यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने, यूहन्नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए।
[13] पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए, र रोदा नाउँ गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्।
[14] जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्।
[15] तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्चै नै हो भनेर दृढ भइरही। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छ भनी ठाने।”
[16] तर पत्रुसले ढोका ढक्ढक्याइरहे; र जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तिनीहरू आश्चर्य चकित भए।
[17] पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे, र कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गर्दै तिनीहरूलाई बताइदिए। त्यसपछि तिनले भने, “यी कुराको समाचार याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले।
[18] पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी कम्ती खैलाबैला मच्चिएन!
[19] हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए, तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीं बसे।
[20] उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे; किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए।
[21] तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे, र मानिसहरूलाई सम्बोधन गरे।
[22] “यो ता मानिसको नभएर ईश्वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए।
[23] हेरोदले परमेश्वरलाई महिमा नदिएकोले, तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे, अनि तिनी बिरामी भए, र कीरा परेर मरे।
[24] तर परमेश्वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो।
[25] बारनाबास र शाऊलले आफ्ना काम समाप्त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, तिनीहरूले साथमा मर्कूस भनिने यूहन्नालाई लिएर गए।