Skip to content
Opens in a new window
Listen to this chapter • 7:24

[1] पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नाउँका एकजना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्‍वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए।

[2] लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे।

[3] पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे, किनकि त्यस क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्‍ने थाहा थियो।

[4] जब तिनीहरू शहर-शहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए।

[5] यसरी मण्डलीहरू विश्‍वासमा शक्‍तिशाली हुँदैगए, र तिनीहरूका संख्या दिनदिनै बढ्दै गए।

[6] एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए।

[7] जब तिनीहरू माइसियाको सिमानामा आइपुगे; तिनीहरू बिथिनिया जाने प्रयास गरे, तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन।

[8] त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे।

[9] रातको समयमा म्यासिडोनियाका एकजना मानिसले उभिएर पावललाई यसरी विन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्।”

[10] पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौं।

[11] त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौं, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौं।

[12] त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख शहर फिलिप्पी आइपुग्यौं, र त्यहाँ हामी कैयौं दिनसम्म बस्यौं।

[13] विश्रामदिन शहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौं। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौं। हामी त्यहाँ बस्यौं र त्यहीं भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौं।

[14] अनि हाम्रो कुरा सुन्‍ने महिलाहरूमध्ये एकजना थिआटीरा शहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नाउँकी महिला थिइन्। तिनी परमेश्‍वरकी भक्‍त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्‍वरले तिनको हृदय खोलिदिनुभयो।

[15] जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्।

[16] एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौं, तब हामीले एउटी सेविका केटीलाई भेट्यौं, जससँग भविष्य बताउने दुष्‍ट आत्मा थियो। भविष्य बताएरै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी।

[17] त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसरी कराई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्। तपाईंहरूको उद्धारको बाटो यिनीहरू बताइरहेका छन्।”

[18] धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही; अन्त्यमा यस कुराले पावललाई यति चिन्तित गरायो, कि पछिल्तिर फनक्‍क फर्केर तिनले त्यस दुष्‍ट आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की।” त्यसै क्षण त्यो दुष्‍ट आत्माले त्यसलाई छोडिदियो।

[19] जब त्यस सेविका केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे।

[20] अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन् र यिनीहरू हाम्रा शहरमा गोलमाल मच्‍च्‍याउँदै छन्।

[21] यिनीहरू हामी रोमीहरूले स्वीकार्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।”

[22] तब ती भीड पावल र सिलासमाथि जाइलाग्न एक भयो, अनि हाकिमहरूले तिनीहरूलाई नाङ्गो पारेर छडीले हिर्काउने हुकुम दिए।

[23] तिनीहरूलाई छडीले धेरै कुटेपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूका निगरानी गर्ने हुकुम दिए।

[24] यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने र तिनका खुट्टामा ठिँगुराहरू ठोकी दिए।

[25] मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए र त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए।

[26] अकस्मात् त्यहाँ एउटा ठूलो भूकम्प आयो, जसले गर्दा झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिएर सबै बन्दीहरूका साङ्लाहरू पनि खोलिए।

[27] झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे, र जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैलाई मार्न खोजे; किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए।

[28] तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्, किनकि हामी सबै यहीं नै छौं!”

[29] तब ती झ्यालखानाका प्रमुख त्यहाँ बत्ती बालेर दगुर्दै भित्र गए; अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे।

[30] त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरूहो, मुक्‍ति पाउनका निम्ति मैले के गर्नुपर्छ?”

[31] तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्‍वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।”

[32] त्यसपछि पावल र सिलासले तिनीसँग र तिनका घरमा भएका सबैजनालाई प्रभुको वचन सुनाए।

[33] रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए, अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्‍तिस्मा लिए।

[34] झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए, किनकि तिनी र तिनका पूरा परिवारले परमेश्‍वरमा विश्‍वास गरेका थिए।

[35] उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!”

[36] त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। अब तपाईंहरू जान सक्नुहुन्छ, शान्तिसाथ जानुहोस्।”

[37] तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदाहुँदै पनि कुनै सुनुवाइविना, तिनीहरूले हामीलाई खुल्‍लमखुल्‍ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफै यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।”

[38] अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाए, पावल र सिलास रोमी नागरिक भएको जब तिनीहरूले सुने, तिनीहरू तर्सिए।

[39] तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए, र झ्यालखानाबाट बाहिर निकालेर शहर छोडेर जान अनुरोध गरे।

[40] पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए, त्यहाँ तिनीहरूले विश्‍वासीहरूलाई भेटे, र तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।

प्रेरित — Chapters