Skip to content
Opens in a new window
Listen to this chapter • 6:35

[1] जब शहरमा खैलाबैला शान्त भयो, तब पावलले आफ्ना चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए, र तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए।

[2] मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए।

[3] त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे।

[4] उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए।

[5] ती मानिसहरू हामीभन्दा अघि गएर त्रोआसमा हामीलाई पर्खिबसे।

[6] तर हामी अखमीरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौं र त्यहाँ हामी सात दिन बस्यौं।

[7] हप्‍ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौं। ती सबैलाई पावलले प्रचार गरे र भोलिपल्ट त्यो शहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे।

[8] हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए।

[9] त्यस कोठाको झ्यालमा युटिकस नाउँको एकजना युवक बसिरहेको थियो; जब पावलले लामो समयसम्म वचन बोलिरहेको थियो, तब त्यो युवक गहिरो निद्रामा पर्‍यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए।

[10] तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नहड्बडाउनुहोस्, यिनी जीवितै छन्।”

[11] त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए।

[12] ती मानिसहरूले त्यस युवकलाई जिउँदै अवस्थामा घर लगे र ठूलो सान्त्वना पाए।

[13] जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौं, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौं। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए।

[14] जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौं र मितिलेनेमा गयौं।

[15] भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौं र अर्को दिन हामी सामोसलाई पार गर्‍यौं, अनि भोलिपल्ट मिलेटसमा पुग्यौं।

[16] एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए, किनकि सम्भव भएदेखि पेन्तिकोसको पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे।

[17] मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए।

[18] तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि सधैंभरि म कसरी तपाईंहरूसँग रहें, त्यो कुरा तपाईंहरूलाई थाहै छ।

[19] यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहें।

[20] तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ, तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ।

[21] यहूदीहरू र ग्रीकहरू दुवैलाई तिनीहरू पश्‍चात्तापमा परमेश्‍वरतिर फर्कनैपर्छ र हाम्रा प्रभु येशूमा तिनीहरूले विश्‍वास राख्नैपर्छ भनेर मैले घोषणा गरें।

[22] “अब मचाहिँ पवित्र आत्मामा बाँधिएर यरूशलेममा जाँदैछु, म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो!

[23] तर मलाई यति थाहा छ, हरेक शहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सजग गराउनुहुन्छ।

[24] तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन; मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवाकाइ हो, जुन सेवाकाइ प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।

[25] “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्‍वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन।

[26] त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु।

[27] किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ।

[28] आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्‍नुभएको छ; परमेश्‍वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्‍नुभएको छ।

[29] मलाई यो थाहा छ, मैले छोडेर गएपछि, तपाईंहरू बीचमा जङ्गली ब्वाँसाहरू पस्‍नेछन् र जसले बगाललाई बाँकी राख्नेछैनन्।

[30] तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्।

[31] त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ।

[32] “अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ।

[33] मैले कसैको सुन, चाँदी वा लुगाफाटाहरूमा लोभ गरिनँ।

[34] तपाईंहरू आफै जान्‍नुहुन्छ, मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु।

[35] मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ, प्रभु येशू आफैले भन्‍नुभएका वचनहरूको सम्झना गरौं: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ”

[36] यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैका साथ प्रार्थना गरे।

[37] उनलाई अँगालो हालेर चुम्बन गर्दै सबैजना धेरै रोए।

[38] तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छियाछिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए।

प्रेरित — Chapters