Skip to content
Opens in a new window
Listen to this chapter • 4:53

[1] गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भन्‍ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने।

[2] त्यसकारण जब पत्रुस यरूशलेम फर्किगए, तब खतना भएका दाजुभाइ-दिदीबहिनीहरूले उनको आलोचना गरे,

[3] र यसो भने, “तपाईं खतना नलिने मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुहुन्थेन।”

[4] तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने:

[5] “म योप्पा शहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखें। एउटा ठूलो चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखें, र म जुन ठाउँमा थिएँ, अनि त्यो मकहाँ आयो।

[6] जब मैले त्यसलाई नियालेर हेरें, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।

[7] त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनें, ‘ए, पत्रुस उठ! तिनीहरूलाई मारेर खाऊ।’

[8] “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरो कहिल्यै खाएको छैनँ।’

[9] “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’

[10] अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो।

[11] “ठीक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे।

[12] मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्‍नुभएको थियो। यी छजना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौं।

[13] तिनले हामीलाई भने, उनको घरमा एकजना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।

[14] तिनले तिम्रो निम्ति एउटा वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’

[15] “जब मैले बोल्न थालें, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो।

[16] त्यसपछि प्रभुले जे भन्‍नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।’

[17] त्यसैले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्‍वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरका इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?”

[18] यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।”

[19] स्तिफनसमाथि गरिएको अत्याचारको कारणले गर्दा तितरबितर भएकाहरू, आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे।

[20] तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले।

[21] प्रभुको आशिष तिनीहरूमाथि थियो, र धेरै मानिसहरूले विश्‍वास गरे र प्रभुकहाँ फर्के।

[22] यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।

[23] जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए, र तिनीहरू सबैलाई सम्पूर्ण हृदयदेखि प्रभुमा दृढ भइरहन तिनले उत्साह दिए।

[24] किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए; अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।

[25] त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए।

[26] शाऊललाई फेला पारेपछि, उनलाई लिएर तिनी एन्टिओखियामा आए। अनि बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। एन्टिओखियामै सबैभन्दा पहिले चेलाहरूलाई ख्रीष्‍टियान भनिए।

[27] यसै समयमा केही अगमवक्‍ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे।

[28] तिनीहरूमध्ये अगाबस नाउँका एकजना उठेर रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।)

[29] चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्‍याउने अठोट गरे।

[30] यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाइयो।

प्रेरित — Chapters