Skip to content
Opens in a new window
Listen to this chapter • 5:06

[1] आइकोनियममा पावल र बारनाबास सदाझैं यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्‍वास गर्न थाले।

[2] तर विश्‍वास गर्न नमान्‍ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्‍वासीहरूका विरुद्ध जगाए।

[3] त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीं बसे। तिनीहरूलाई अद्भुत चिन्हहरू र आश्‍चर्यपूर्ण कामहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो।

[4] तर त्यस शहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे।

[5] आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए।

[6] तर यस योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी शहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए;

[7] र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे।

[8] लुस्त्रामा एउटा हिँड्न नसक्ने मानिस बस्थ्यो। ऊ जन्मैदेखि हिँड्न नसक्ने भएकोले कहिल्यै हिँडेको थिएन।

[9] त्यस मानिसले पावल बोलिरहेको सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्‍वास रहेछ भनी थाहा पाए।

[10] त्यसैले तिनले उच्‍च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्‍क उठ्यो, र हिँड्न थाल्यो।

[11] पावलले गरेका कुराहरू जब भीडले देखे, तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!”

[12] तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्‍न थाले; किनकि पावल नै मुख्य वक्‍ता थिए।

[13] शहरको ठीक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पूजाहारीले शहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडहरूले उनीहरूलाई बलि चढाउन चाहे।

[14] तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने,

[15] “मानिसहरूहो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौं। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौं। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुहुने उनै परमेश्‍वरकहाँ फर्कनुहोस् भन्‍न हामी तपाईंहरूसमक्ष आएका हौं।

[16] बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो।

[17] तैपनि आफूलाई उहाँले कुनै विनासाक्षी त्यसै छोड्नुभएन, किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्‍न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ; उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।”

[18] यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो।

[19] त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो, र तिनी मरेको ठानी तिनलाई घिसार्दै शहरबाहिर लगे।

[20] तर चेलाहरू तिनका वरिपरि भेला भएपछि तिनी उठे र शहरमा फेरि फर्किगए; र त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।

[21] त्यस शहरमा तिनीहरूले सुसमाचारको प्रचार गरे, र ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के।

[22] ती ठाउँहरूका चेलाहरूका आत्मालाई बलियो पार्दै र तिनका विश्‍वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्‍वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।”

[23] पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्‍ति गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए।

[24] त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए,

[25] अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।

[26] अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्‍वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए।

[27] त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएको सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्‍वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे।

[28] अनि त्यसपछि चेलाहरूका साथमा तिनीहरू धेरै समयसम्म सँगै बसे।

प्रेरित — Chapters