[1] पाँच दिनपछि प्रधान पूजाहारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्लस नाउँको एकजना वकील लिएर कैसरिया पुगे; र त्यहाँ राज्यपालका सामु पावलका विरुद्ध तिनीहरूले आफ्नो मुद्दा पेश गरे।
[2] जब पावल त्यहाँ बोलाइए, तर्तुल्लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौं र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ।
[3] हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौं।
[4] तर हजुरलाई झर्को नहोस् भनेर बढी समय नलिईकन कृपा गरेर हाम्रो पक्षलाई सुनिदिनुहुन म आग्रह गर्दछु।
[5] “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौं; संसारभरिका यहूदीहरूमा हूलदङ्गा मच्चाउने साथै नासरी पन्थको विद्रोहीहरूको यो अगुवा हो,
[6] र यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्यो; त्यसैकारण हामीले यसलाई समातेका हौं। हामी त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौं।
[7] तर सेनापति लुसियस आएर जबरजस्ती त्यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो,
[8] र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैले त्यसलाई जाँचेर हामीले उसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्न सक्नुहुन्छ।”
[9] त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमत भए।
[10] त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “मलाई थाहा छ, धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्छु।
[11] हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन।
[12] यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा शहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्।
[13] मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईंहरू सामु प्रमाणित गर्न सक्दैनन्।
[14] तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्वरलाई आराधना गर्दछु, भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्वास राख्छु,
[15] र यी मानिसहरूको जस्तै मेरो पनि परमेश्वरमा त्यही आशा छ, धर्मीहरू र दुष्ट दुवै मरेकाहरू पुनर्जीवित हुनेछन्।
[16] यसकारण म सधैं परमेश्वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु।
[17] “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्याउन म यरूशलेममा आएको थिएँ।
[18] यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न ता कुनै उत्पात मच्चाउन म लागेको थिएँ।
[19] तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामुन्ने उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो।
[20] अथवा जुन बेला म महासभामा उभिएको थिएँ, तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्।
[21] यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरू पुनर्जीवित हुन्छन् भन्ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”
[22] त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।”
[23] त्यसपछि उनले एउटा कप्तानलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए।
[24] केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्ट येशूमा भएको विश्वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने।
[25] जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्स भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुनेछ, म तिमीलाई फेरि बोलाउनेछु।”
[26] साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे।
[27] जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।