[1] अपोल्लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाको बाटो हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए।
[2] पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्वास गर्नुभएको बेला पवित्र आत्मालाई पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौं।”
[3] तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्नाको बप्तिस्मा।”
[4] तब पावलले भने, “यूहन्नाको बप्तिस्मा पश्चात्ताप मात्रको बप्तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुने विश्वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।”
[5] जब तिनीहरूले यो कुरा सुने, त्यसपछि तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए।
[6] अनि जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो; र तिनीहरू विभिन्न भाषाहरूमा बोले, र अगमवाणी गरे।
[7] त्यहाँ प्रायः बाह्रजना पुरुषहरू थिए।
[8] पावल त्यहाँका सभाघरहरूमा गए, र परमेश्वरको राज्यको कुराहरूमा तर्क गर्दै, अनि विश्वास गराउँदै तीन महिनासम्म साहससाथ बोले।
[9] तर तीमध्ये कोही हठी भएर विश्वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्लमखुल्ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले।
[10] यो दुई वर्षसम्म चलिरह्यो। यसरी एशिया प्रान्तमा बस्ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।
[11] परमेश्वरले पावलद्वारा असाधारण र शक्तिशाली कामहरू गर्नुभयो,
[12] यहाँसम्म कि उनले स्पर्श गरेका रुमाल र लुगा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको भए र दुष्ट आत्माहरूले तिनीहरूलाई छोडेर गए।
[13] घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाउँमा ती दुष्ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाउँमा म तँलाई बाहिर निस्किने आज्ञा दिन्छौं।”
[14] स्केवास नाउँ गरेका यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए।
[15] एक दिन एउटा दुष्ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?”
[16] त्यसपछि दुष्ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो र तिनीहरूलाई वशमा पार्यो। अनि त्यसले तिनीहरूलाई यतिसम्म पिट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।
[17] जब एफिससमा बस्ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए, र प्रभु येशूको नाउँको ठूलो आदर गरियो।
[18] विश्वास गर्ने धेरै जनाले खुल्लमखुल्ला तिनीहरूले गरेका दुष्ट कामहरू स्वीकार गरे।
[19] जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे र तिनलाई सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्का थियो।
[20] यसरी प्रभुको वचन शक्तिशाली बन्दै फैलिँदै गयो।
[21] यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।”
[22] आफ्ना दुईजना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।
[23] त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्चियो।
[24] डेमेत्रियस नाउँको चाँदीको काम गर्ने एकजना मानिस थियो, जसले आर्तेमिस देवीका चाँदीका मन्दिरहरूमा मूर्तिहरू बनाउँथ्यो; र यसले कारीगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो।
[25] ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरूहो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ।
[26] अहिले तपाईंहरूले देख्नुभयो र सुन्नुभयो, कसरी पावल भन्ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ, कि हातले बनाइएका ईश्वरहरू हुँदै होइनन्।
[27] यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन, तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ; र एशियाका सबै प्रान्तहरू र संसारभरि पूजिने देवीको ईश्वरीय गौरव नाश हुनेछ।”
[28] जब तिनीहरूले यो कुरो सुने, तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!”
[29] चाँडै नै पूरा शहरमा ठूलो खैलाबैला मच्चियो; अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे।
[30] भीडमा गएर पावलले केही भन्न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्।
[31] त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी विन्ती गरेर खबर पठाए।
[32] त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन।
[33] भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे, अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे।
[34] तर तिनीहरूले उनी यहूदी हुन् भन्ने थाहा पाए, ती सबैले एकै सोरमा करीब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।”
[35] अनि त्यस नगरको हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरूहो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो र उनको मन्दिरको रक्षक एफिसस शहर हो भनी के कसैलाई थाहा छैन र?
[36] त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस् र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्।
[37] तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो, तर यिनीहरूले न ता मन्दिर लुटेका छन्, न ता हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्।
[38] त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्।
[39] यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ।
[40] हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हूलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्टीकरण दिन सक्नेछैनौं, किनकि यसको कुनै कारण नै छैन।”
[41] यति भनिसकेर तिनले त्यो सभालाई बिदा गरिदिए।