[1] त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले:
[2] “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, जब म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु,
[3] विशेष गरेर यसकारण पनि यहूदीहरूका सम्पूर्ण रीतिथिति र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु।
[4] “यहूदीहरू मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्।
[5] तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरू नै दिन सक्छन्।
[6] परमेश्वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु।
[7] यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले सच्चाईमा दिनरात परमेश्वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्।
[8] मरेकाहरूलाई परमेश्वरले जीवित पार्नुहुन्छ भन्ने कुरामा किन तपाईंहरू कति पनि विश्वास गर्न सक्नुहुन्न?
[9] “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नाउँको विरोध गर्नुपर्छ,
[10] र मैले ठीक यही नै यरूशलेममा गरें। मुख्य पूजाहारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हाले। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ।
[11] तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि सीमा पारिका शहरहरूमा समेत गएर तिनीहरूका खेदो गरें।
[12] “यस्तै किसिमको एक यात्रामा मुख्य पूजाहारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।
[13] हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखें। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, अनि यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो।
[14] हामी सबै भुइँमा पछारियौं, अनि हिब्रू भाषामा एउटा आवाजले मलाई यसो भनेको सुनें, ‘शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात्तीले हान्दा तिमीलाई नै कठिन हुन्छ।’
[15] “त्यसपछि मैले प्रश्न गरें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
[16] अब तिमी उठ र आफ्ना पाउहरूमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।
[17] म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु,
[18] ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्, कि तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
[19] “त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।
[20] सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्चात्ताप गर्नुपर्दछ, परमेश्वरमा फर्किनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरें।
[21] त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे।
[22] तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ।
[23] अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ, आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”
[24] यति सुन्नासाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो ठूलो विद्याले गर्दा तिमी बहुला भएका छौ।”
[25] तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्।
[26] राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्।
[27] हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्वास राख्नुहुन्छ।”
[28] त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई एउटा ख्रीष्टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?”
[29] पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबैजना मजस्तो छु त्यस्तै हुनुहोस्।”
[30] अनि राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबैजना उठे।
[31] जब तिनीहरू त्यस कोठादेखि बाहिर गएर एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।”
[32] अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”