[1] यसै समयमा हननिया भन्ने एकजना मानिस साथै उनकी पत्नी सफीराले पनि आफ्नो एक टुक्रा जग्गा बेचे।
[2] आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्त रकमको केही हिस्सा आफ्ना निम्ति राखेर बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
[3] त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ र जग्गा बिक्रीबाट पाएको रकममध्येको केही भाग कसरी राख्न सक्यौ?
[4] बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोल्यौ।”
[5] यो कुरो सुन्ने बित्तिकै, हननिया भुइँमा पछारियो र मर्यो। यस घटना सुन्ने सबैजनाको मनमा ठूलो डर पस्यो।
[6] अनि केही जवानहरू अगाडि आएर त्यो मृत शरीरलाई लुगाले बेह्रे र बाहिर लगेर चिहानमा गाडिदिए।
[7] झण्डै तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएका घटनाका बारेमा तिनीलाई केही थाहा थिएन।
[8] पत्रुसले तिनलाई सोधे, “मलाई भन, हननिया र तिमीले जग्गा बेचेर प्राप्त गरेको रकम यति नै हो?” “हो,” तिनले जवाफ दिइन्, “रकम यति नै हो।”
[9] पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्, र तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
[10] त्यही क्षण पत्रुसको पाउमा तिनी घोप्टो परिन् र मरी; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरेको भेट्टाए, अनि त्यस मृत शरीरलाई लगेर तिनको पतिको चिहानकै छेउमा तिनलाई पनि गाडिदिए।
[11] सारा मण्डलीमाथि र यी घटनाहरू सुन्ने सबैमाथि ठूलो डर उत्पन्न भयो।
[12] मानिसहरूका सामु प्रेरितहरूले धेरै अनेकौं चिन्हहरू र आश्चर्यपूर्ण कामहरू गरे; र सबै विश्वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुनेगर्थे।
[13] तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेन।
[14] तर पनि, परमेश्वरमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्यो।
[15] यहाँसम्म कि, पत्रुस हिँड्ने बाटोहरूमा मानिसहरूले बिरामीहरू ल्याएर खाटमा र सुकुलमा सुताउन थाले, ताकि त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए पनि कुनै बिरामीको जिउमा परोस्।
[16] अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका शहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको तुल्याइए।
[17] प्रधान पूजाहारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो;
[18] अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
[19] तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले; अनि
[20] तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, अनि यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
[21] तिनीहरूलाई भनिएझैं नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पूजाहारी र उनका सहायकहरू भेला भए, उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए, अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए।
[22] तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर महासभामा गए, र यसो भने,
[23] “झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका हामीले पायौं। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए; तर जब ढोका खोल्यौं, हामीले भित्र कसैलाई भेट्टाएनौं।”
[24] यो खबर सुनेपछि मन्दिरको पहरेदारहरूका कप्तान र मुख्य पूजाहारीहरू यसपछि अब के हुने हो भनी अलमल परे।
[25] त्यसै बेला एकजना त्यहाँ आएर भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
[26] यो सुन्नासाथ, आफ्ना अधिकृतहरूलाई लिएर कप्तान मन्दिरतिर गए, र प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्, किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्ने डर थियो।
[27] प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पूजाहारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभाअघि उभ्याइयो।
[28] प्रधान पूजाहारीले भने, “यस नाउँमा नसिकाउन हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौं। तैपनि तिमीहरूले यसै नाउँमा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ, र यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
[29] पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ!
[30] हाम्रा पुर्खाहरूका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
[31] इस्राएलले पश्चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्वरले आफ्नो दाहिने हातपट्टि उच्च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
[32] हामी ती कुराका साक्षी छौं र त्यसै गरी परमेश्वरको आज्ञा पालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
[33] यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
[34] तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्ने एकजना फरिसी महासभामा उभिए, र प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
[35] त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिसहो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
[36] किनकि केही समयअघि थूदास भन्ने एकजना मानिस देखा पर्यो, जसले आफू कोही हुँ भन्ने दाबी गर्यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र यो सबै त्यसै बिलायो।
[37] त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर बिद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
[38] त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्; किनकि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने, ती असफल हुनेछन्।
[39] तर यदि यो परमेश्वरबाट भएको हो भने, तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सामर्थ्य हुनुहुनेछैन; त्यस बेलामा तपाईंहरू आफैलाई नै परमेश्वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
[40] उनको वचनले तिनीहरूका चित्त बुझ्यो; अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्राले पिटे। त्यसपछि येशूको नाउँमा प्रचार नगर्नू भन्ने आदेश दिएर तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
[41] येशूको नाउँमा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
[42] येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सुसमाचार घर-घरमा र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।