[1] यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”
[2] यसले गर्दा तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। त्यसकारण यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्वासीका साथ नियुक्त गरिए।
[3] मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटो हुँदै यात्रा गरिरहेका थिए, तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो बताए। त्यो खबरले सबै विश्वासीहरू प्रसन्न भए।
[4] जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूका स्वागत गरे। जसलाई परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान गरे।
[5] त्यसपछि फरिसी दलका केही विश्वासीहरू उठे र भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।”
[6] यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए।
[7] ठूलो बहसपछि पत्रुस उठे, र सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरूहो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्वास गरून् भनेर केही समयअघि परमेश्वरले तपाईंहरूबाट मेरो छनौट गर्नुभयो।
[8] मानिसको हृदय जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिनुभएर तिनीहरूलाई स्वीकार गर्नुभएर गवाही देखाउनुभएको छ।
[9] हामी र तिनीहरूको बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो।
[10] त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न ता हाम्रा पुर्खाहरू नै बोक्न सक्यौं।
[11] हामी विश्वास राख्दछौं, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा हामीले उद्धार पाएका छौं, त्यसरी नै उनीहरूको पनि।”
[12] जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्वरले उनीहरूद्वारा गर्नुभएका अद्भुत चिन्हहरू र आश्चर्यपूर्ण कामहरू सुनाए, तब सबै भीड चूपचाप भयो।
[13] तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरूहो, मेरो कुरा सुन्नुहोस्।
[14] सबैभन्दा पहिले परमेश्वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो, यसको वर्णन सिमोनले हामीलाई गरेका छन्।
[15] अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्दछन्, किनकि यस्तो लेखिएको छ:
[16] “ ‘यसपछि म फर्कनेछु, र दाविदको भत्केको घरानालाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेष म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु।
[17] बाँकी मानिसहरूले र मेरो नाउँ लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’
[18] जुन सृष्टिको अनन्तकालदेखि जानिएको छ।
[19] “त्यसकारण मेरो विचार यही हो: परमेश्वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।
[20] त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्।
[21] किनकि धेरै अघिदेखि प्रत्येक शहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र हरेक विश्रामदिनमा त्यसलाई सभाघरहरूमा पढिँदैछ।”
[22] त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।
[23] उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्ने गैरयहूदी विश्वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंका विश्वासीहरूबाट अभिवादन!
[24] हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका हुनाले,
[25] यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौं।
[26] यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्टका नाउँका निम्ति आफ्नो ज्यान जोखिममा पारेका छन्।
[27] यसैले हामी जे लेखिरहेका छौं, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौं।
[28] यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौं।
[29] मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट टाढा रहनुहोस्! यी सब कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा।
[30] त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए।
[31] ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए।
[32] यहूदा र सिलास, जो आफै पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।
[33] तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्वासीहरूद्वारा शान्तिको आशिषसहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएका थिए।
[34] तर सिलासले त्यहीं बस्ने निर्णय गरे।
[35] पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।
[36] केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति शहरहरूमा प्रभुको वचनको प्रचार गर्यौं, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔं र दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौं।”
[37] मर्कूस भनिने यूहन्नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे।
[38] तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।
[39] तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए; अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।
[40] पावलले सिलासलाई चुने, र विश्वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे।
[41] उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।