[1] तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौं। अर्को दिन हामी रोडस गयौं। अनि त्यहाँबाट पटारा पुग्यौं।
[2] त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौं, त्यसैमा चढेर अगाडि बढ्यौं।
[3] साइप्रस टापू देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौं। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौं।
[4] त्यसपछि हामी त्यहाँ रहने चेलाहरूकहाँ गयौं र तिनीहरूसँग सात दिनसम्म बस्यौं। पवित्र आत्माद्वारा अगुवाइ भएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी विन्ती गरे।
[5] जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, त्यसपछि हामी आफ्नो बाटो लाग्यौं; तब त्यहाँका सबैजना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई शहरबाहिर पुर्याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्यौं।
[6] एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौं र उनीहरू घर फर्के।
[7] टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौं, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौं र तिनीहरूसँग एक दिन बस्यौं।
[8] अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौं र सातमध्ये एकजना प्रचारक फिलिपको घरमा हामी बस्यौं।
[9] तिनका चारजना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे।
[10] हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नाउँका एकजना अगमवक्ता आए।
[11] हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधेर तिनले यसो भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसैगरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
[12] जब हामीले यी कुराहरू सुन्यौं, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी विन्ती गर्यौं।
[13] अनि पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म ता बाँधिन मात्र होइन, तर प्रभु येशूको नाउँका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”
[14] तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौं।
[15] त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौं।
[16] हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।
[17] जब हामी यरूशलेम आइपुग्यौं, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे।
[18] भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौं, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए।
[19] पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए।
[20] तिनीहरूले यो सुनेपछि परमेश्वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुभयो, यहूदीहरूमध्ये कैयौं हजार विश्वासी भएका छन्; र ती सबैजना मोशाका व्यवस्थामा उत्साहित छन्।
[21] तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू, तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिउनू भन्ने शिक्षा दिनुभएको छ।
[22] अब हामीले के गर्ने हो? निश्चय नै तपाईं आउनुभएको छ भन्ने कुरा तिनीहरूले सुन्नेछन्,
[23] यसकारण हामी जे भन्दछौं, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चारजना भाकल गर्ने मानिसहरू छन्।
[24] यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूका खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्; त्यसपछि तपाईंका बारेमा चलाइएका हल्लाहरूमा कुनै सत्यता रहेनछ, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्।
[25] जहाँसम्म गैरयहूदी विश्वासीहरूको कुरो छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
[26] अर्को दिन ती चारजनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफ्नो पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्ने जानकारी दिन उनी मन्दिरमा गए।
[27] जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्याउँदै तिनीहरूले उनलाई पक्रे,
[28] अनि चिच्याउँदै भने, “हे इस्राएलका मानिसहरूहो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यो मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।”
[29] (यो घटनाभन्दा अघि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई शहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्ने धारणा तिनीहरूका थियो।)
[30] सारा शहरभरि हल्लाखल्ला मच्चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे।
[31] जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, सम्पूर्ण यरूशलेम शहर अशान्त छ भन्ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो।
[32] तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
[33] सेनापति त्यहाँ आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुईओटा साङ्लोले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे।
[34] भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थियो। यसरी खैलाबैला मच्चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लगिऊन् भन्ने आदेश दिए।
[35] पावल जब सिँढीमा पुगे, भीडको आतङ्क यति हिंस्रक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्यो।
[36] किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिध्याइदेऊ!” भनेर चिच्याउँदै थियो!
[37] अनि सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्ने अनुमति पाउन सक्छु?” तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ?
[38] के तिमी इजिप्ट देशका मानिस होइनौ, जसले केही समयअघि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?”
[39] पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा शहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण शहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
[40] सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चूप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चूप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे: