Skip to content
Opens in a new window
Listen to this chapter • 6:44

[1] पत्रुस र यूहन्‍ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पूजाहारीहरू, मन्दिरका रक्षकहरूका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।

[2] तिनीहरू निकै अन्योलमा परेका थिए, किनकि प्रेरितहरू त्यहाँ मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनर्जीवित पारिन्छन् भन्‍ने घोषणा गरिरहेका थिए।

[3] त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।

[4] तर उनीहरूको वचन सुन्‍नेहरूमध्ये धेरैजसोले त्यसमा विश्‍वास गरे, र विश्‍वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो।

[5] भोलिपल्ट शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।

[6] प्रधान पूजाहारी हन्‍नास त्यहाँ थिए, त्यसै गरी कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।

[7] तिनीहरूले पत्रुस र यूहन्‍नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्‍तिमा वा कसको नाउँमा तिमीहरूले यसो गरेका हौ?”

[8] त्यसपछि पवित्र आत्माले भरिएका पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “जनताका शासकहरू र प्रधानहरू हो!

[9] एउटा हिँड्न नसक्ने मानिसप्रति हामीले देखाएको एउटा दयालु कामको वर्णन मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,

[10] तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरो थाहा होस्: नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो, तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नाउँद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ।

[11] येशू ख्रीष्‍ट, “ ‘त्यही ढुङ्गो हुनुहुन्छ जसलाई तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो, तर उहाँ अहिले जगको मुख्य ढुङ्गो हुनुभएको छ।’

[12] अरू कसैमा मुक्‍ति पाइँदैन, किनकि स्वर्गमुनि अर्को कुनै नाउँ मानिसहरूलाई दिइएको छैन जसबाट हामीले उद्धार प्राप्‍त गर्न सक्छौं।”

[13] जब तिनीहरूले पत्रुस र यूहन्‍नाको यस्तो साहस देखे र तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तिनीहरू आश्‍चर्य चकित भए। अनि ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले बुझे।

[14] तर पूर्ण निको भएको व्यक्‍ति आफ्ना नजिक उभिरहेको देखिसकेपछि तिनीहरूले भन्‍न सक्ने कुरा त्यहाँ केही थिएन।

[15] त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा सल्‍लाह गर्न थाले।

[16] “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गर्ने हो?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अद्भुत चिन्हहरूको बारेमा यरूशलेममा बस्‍ने हरेक व्यक्‍तिले थाहा पाएका छन्, र हामी पनि त्यसलाई इन्कार गर्न सक्दैनौं।

[17] तर यो कुरा अरू बढी मानिसहरूमा प्रचारित हुनबाट रोक्नका निम्ति यो नाउँमा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।”

[18] त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र डाके, र येशूको नाउँमा कुनै पनि अवस्थामा प्रचार नगर्ने र नसिकाउने आदेश दिए।

[19] तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “आफै न्याय गर्नुहोस्, परमेश्‍वरको साटो तपाईंहरूको आदेशको पालना गर्नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ सही हुनेछ?

[20] किनकि जे कुरा हामीले देख्यौं र सुन्यौं त्यो वचन नबोली हामी बस्‍न सक्दैनौं।”

[21] यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी दण्ड सजाय दिने यसको निर्णय तिनीहरूले गर्न सकेनन् किनकि त्यहाँ जे घटना भएको थियो त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

[22] किनकि आश्‍चर्य तवरले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी नै थियो।

[23] उनीहरूलाई छोडिएपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए र मुख्य पूजाहारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।

[24] तिनीहरूले ती कुरा सुनिसकेपछि, सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरमा प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो।

[25] तपाईंको सेवक हाम्रा पुर्खा दाविदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन् र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्?

[26] प्रभु र उहाँका अभिषिक्‍त जनका विरुद्धमा पृथ्वीका राजाहरू उभिएका छन् र शासकहरू एकजुट भएर भेला भएका छन्।’

[27] तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो शहरमा भेटघाट गरेका थिए।

[28] तिनीहरूले त्यही गरे जुन तपाईंको शक्‍ति र इच्छाले यसै गर्ने भनेर पहिले नै निर्णय गरिसकेको थियो।

[29] अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्नसक्ने बनाउनुहोस्।

[30] तपाईंको पवित्र सेवक येशूको नाउँद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन र अद्भुत चिन्हहरू देखाउन र आश्‍चर्यपूर्ण कामहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”

[31] तिनीहरूका प्रार्थनापछि, तिनीहरू बसिरहेको ठाउँ हल्‍लियो। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिएर परमेश्‍वरको वचन साहससाथ बोल्न थाले।

[32] हृदय र मनमा सबै विश्‍वासीहरू एउटै भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो, तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।

[33] ठूलो शक्‍तिका साथ प्रेरितहरूले प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे र तिनीहरू सबैमाथि परमेश्‍वरको प्रशस्त अनुग्रह थियो।

[34] तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे र बिक्रीबाट आएको पैसा ल्याउँथे।

[35] अनि त्यो धनलाई प्रेरितहरूको पाउमा राखिदिन्थे र जस-जसलाई खाँचो हुन्थ्यो तिनीहरूमा त्यो बाँडिन्थ्यो।

[36] साइप्रस देशका लेवी कुलका योसेफ जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्‍ने गर्थे,

[37] उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे, र त्यसबाट प्राप्‍त रकम ल्याएर प्रेरितहरूको पाउमा राखिदिए।

प्रेरित — Chapters