[1] जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एकजना राजकीय सैन्य दलका कप्तान युलियसको जिम्मा लगाइयो।
[2] एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्यौं। अरिस्तार्खस नाउँ भएका थेसलोनिकीका एकजना म्यासिडोनी पनि हामीसँगै थिए।
[3] भोलिपल्ट हामी सीदोनमा उत्रियौं; युलियसले पावलमाथि दया गर्दै, आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्।
[4] त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्यौं र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौं।
[5] अनि हामी किलिकिया र पामफिलियापारि खुल्ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौं।
[6] त्यहाँ कप्तानले इटालीया जाँदै गरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए।
[7] धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अघि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, अनि क्रेटको आड लिँदै हामी सालमोनेको पल्लोपट्टि हुँदै गयौं।
[8] बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौं र लासिया शहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौं।
[9] धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो, किनभने पाप क्षमाको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने,
[10] “हे मानिसहरूहो, हाम्रो यात्रा निकै सङ्कटमय हुने र जहाज अनि यसभित्रका माल सामानहरू र हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।”
[11] तर कप्तानले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्लाहमा काम गरे।
[12] त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले, फोनिक्स पुग्ने र त्यहीं हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गर्यौं। फोनिक्स क्रेटको बन्दरगाह थियो, जो दक्षिण-पश्चिम र उत्तर-पश्चिम दुवैतिर फर्केको थियो।
[13] दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्ने तिनीहरूले सोंचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले।
[14] तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापूबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो।
[15] त्यस आँधीको चपेटामा जहाज पर्यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन; त्यसैले हामीले त्यसलाई जतातिर जान्छ त्यतैतिर जाओस् भनेर छोडिदियौं।
[16] हामीले कौडा भन्ने एउटा सानो टापूको आडबाट जाँदै गर्दा बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौं।
[17] मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्ने बलौटे धापमा भासिएला भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफै चल्न दिए।
[18] भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे।
[19] तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए।
[20] जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन् र आँधीबेहरीले लगातार चलिरह्यो, तब हामीले बाँचौंला भन्ने सबै आशा नै त्यागिदियौं।
[21] मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरूहो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्लाहलाई तपाईंहरूले मान्नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो।
[22] तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्, किनकि तपाईंहरूमध्ये एकजनालाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्ट हुनेछ।
[23] किनकि जुन परमेश्वरको म हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राती मेरा छेउमा आएर उभिए,
[24] अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्दछ; र तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’
[25] त्यसैले मित्रहरूहो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ।
[26] तैपनि हामीचाहिँ कुनै नजिकैको टापूमा बजारिनै पर्छ।”
[27] चौधौं राती पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए।
[28] त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए।
[29] हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चारओटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे।
[30] जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले।
[31] त्यो देखेर पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।”
[32] यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जानदिए।
[33] झिसमिसे बिहानी हुनुभन्दा अघि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन।
[34] अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।”
[35] यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले।
[36] यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले।
[37] हामी सबै मिलाएर त्यस जहाजमा दुई सय छयहत्तरजना थियौं।
[38] तिनीहरू सबैले यथेष्ट भोजन खाएपछि जहाजमा भएको गहुँ समुद्रमा फालेर त्यसलाई हलुको पारे।
[39] जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्, तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे।
[40] तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जानदिए।
[41] तर बालुवाको थुप्रोमा जहाज ठोक्किन पुग्यो र त्यसैमा भासियो। जहाजको अघिल्लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्लो भाग समुद्रका छालहरूका धक्काले टुक्रिन थाल्यो।
[42] कैदीहरूमध्ये कुनै पनि कैदी पौडेर नभागोस् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना बनाए।
[43] तर कप्तानले पावलको ज्यान बचाउन चाहन्थे र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्ने आदेश दिए।
[44] अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्ने आदेश दिए। यसरी सबैजना सुरक्षित किनारमा पुगे।