Skip to content
Opens in a new window
Listen to this chapter • 6:11

[1] सुरक्षित साथ किनारमा पुगेपछि हामीले थाहा पायौं, त्यो टापूको नाउँ माल्टा रहेछ।

[2] टापूका बासिन्दाहरूले हामीप्रति अद्भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे।

[3] जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा राखे, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो।

[4] जब टापूका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्‍न थाले, “पक्‍कै पनि यो मानिस हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट यो बाँचे तापनि न्यायकी देवीबाट अब बाँच्नेछैन।”

[5] तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई केही बिगार भएको अनुभव गरेनन्।

[6] मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि, तिनीहरूका सोचाई फेरियो र उनलाई देवता भन्‍न थाले।

[7] त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापूका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे।

[8] तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे।

[9] यो घटना भएपछि त्यस टापूका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए।

[10] तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौं, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए।

[11] तीन महिनापछि यसै टापूमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौं। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अघिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो।

[12] सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौं।

[13] त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौं। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौं।

[14] त्यहाँ हामीले केही विश्‍वासीहरूलाई भेट्यौं, तिनीहरूले हामीलाई एक हप्‍ता बस्‍ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौं।

[15] त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए, त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्‍वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए।

[16] जब हामी रोम शहर प्रवेश गर्‍यौं, तब एउटा सिपाहीको रेखदेखमा पावललाई अलग्गै बस्‍ने अनुमति मिल्यो।

[17] तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबैजना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ, तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्‍पिइएँ।

[18] तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ।

[19] तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ।

[20] यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने इस्राएलको आशाको कारण म यस साङ्लोले बाँधिएको छु।”

[21] तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौं र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन।

[22] तर पनि तपाईंका धारणाहरू हामी सुन्‍न चाहन्छौं; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।”

[23] तिनीहरूले पावलसँग भेट्ने दिन तोके, अनि त्यस दिन पहिलेकोभन्दा पनि ठूलो संख्यामा मानिसहरू पावल बसेको ठाउँमा आए। तिनीहरूलाई बिहानदेखि साँझसम्म उनले परमेश्‍वरको राज्यको वर्णन गरे; र मोशाको व्यवस्था र अगमवक्‍ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्‍न गरे।

[24] उनले भनिएका ती कुराहरूमा कतिले विश्‍वास गरे, र कतिले विश्‍वास गरेनन्।

[25] तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्‍तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्‍नुभएको थियो, जब उहाँले यशैया अगमवक्‍ताद्वारा बोल्नुभएको थियो:

[26] “ ‘यी मानिसहरूकहाँ जाऊ र भन, “तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू सदा देख्नेछौ, तर कहिल्यै चिन्‍नेछैनौ।”

[27] किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्र ता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’

[28] “त्यसकारण तपाईंहरू यो कुरो जान्‍नुहोस् भन्‍ने म चाहन्छु र परमेश्‍वरको मुक्‍ति गैरयहूदीहरूका निम्ति पठाइएको छ, अनि तिनीहरूले यो स्वीकार्नेछन्।”

[29] पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए।

[30] दुई वर्षसम्म आफूले भाडामा लिएको घरमा पावल त्यहीं बसे, र तिनलाई भेट्न आउने जति सबैजनालाई तिनले स्वागत गरे।

[31] उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्‍वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिए।

प्रेरित — Chapters