Skip to content
Opens in a new window
Listen to this chapter • 6:38

[1] तब पावलले महासभातिर टिठ लाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।”

[2] यो कुरा सुन्‍नासाथ प्रधान पूजाहारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए।

[3] अनि पावलले भने, “हे चून पोतिएको भित्ता, तपाईंलाई परमेश्‍वरले प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्‍नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस विधिको उलङ्घन गर्दै हुनुहुन्छ।”

[4] यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “परमेश्‍वरको प्रधान पूजाहारीलाई बेइज्जत गर्ने तँ कसरी साहस गर्दैछस्?”

[5] पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरूहो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘तिम्रा मानिसहरूका शासकको बारेमा निन्दनीय कुरा नबोल।’ ”

[6] जब पावलले महासभामा एक सदुकी दलका र अर्को फरिसी दलका रहेछन् भनेर उनले थाहा पाए, तब उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, म फरिसीहरूको छोरो एउटा फरिसी हुँ। मरेकाहरू पुनर्जीवित हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”

[7] जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच एउटा मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो।

[8] सदुकीहरू भन्छन् कि मरेकाहरू पुनर्जीवित हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्।

[9] त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौं। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोल्यो कि?”

[10] तिनीहरू बीचको झगडा यति हिंसात्मक हुनथाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर उनलाई ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए।

[11] भोलिपल्ट राती प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”

[12] भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारून्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए।

[13] यस षड्यन्त्रमा चालीसजनाभन्दा बढी मानिसहरूको संलग्नता थियो।

[14] तिनीहरू मुख्य पूजाहारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्‍त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौं।

[15] त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौं।”

[16] जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदियो।

[17] अनि पावलले एकजना कप्‍तानलाई बोलाएर भने, “यस युवकलाई लिएर सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्‍नुपर्ने केही कुरा छ।”

[18] अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए। यसकारण उनले तिनलाई कप्‍तानकहाँ लगेर भने, “कैदी पावलले मलाई बोलाएर यस युवकलाई हजुरकहाँ लिएर जानू भनेर पठाए, किनकि हजुरलाई भन्‍नैपर्ने केही कुरा योसँग छ।”

[19] त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्‍न खोजेको कुरो के हो?”

[20] युवकले भन्यो: “पावलको बारेमा सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग विन्ती गर्न केही यहूदीहरू योजना बनाएका छन्।

[21] तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीसजनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्‍नेछन्। पावललाई नमारेसम्‍म अन्‍नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूका अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”

[22] सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्‍नू।”

[23] त्यसपछि सेनापतिले आफ्ना दुईजना कप्‍तानलाई बोलाएर यस्तो आदेश दिए, “आजै राती नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख।

[24] पावलको निम्ति पनि घोडा तयार गर, र उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकियोस्।”

[25] अनि यस किसिमको पत्र तिनले लेखे:

[26] सम्माननीय राज्यपाल फेलिक्सलाई, क्लौडियस लुसियसको अभिवादन।

[27] यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगें, र यिनलाई छुटाएर ल्याएँ, किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ।

[28] तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्‍न चाहन्थें; त्यसैले मैले तिनीहरूका महासभामा उनलाई उपस्थित गराएँ।

[29] मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर उनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।

[30] जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।

[31] त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राती नै हिँडेर उनलाई एन्टिपाट्रिससम्म ल्याए।

[32] भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।

[33] कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र चढाएपछि पावललाई पनि राज्यपालको सामु बुझाइदिए।

[34] पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, अनि उनी किलिकियाका हुन् भन्‍ने थाहा पाएर,

[35] उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए।

प्रेरित — Chapters