[1] त्यसपछि प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?”
[2] यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू, मेरो कुरा सुन्नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्नुभन्दा अघि जब उनी मेसोपोटामियामै थिए, महिमाका परमेश्वरले उनको सामु आएर भन्नुभयो,
[3] ‘तिम्रो देश, तिम्रा जाति र तिम्रा पिताका घरानालाई छोडेर म जुन देश तिमीलाई देखाउँछु, त्यहीं जाऊ।’
[4] “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो जहाँ, अहिले तपाईंहरू बसिरहनुभएको छ।
[5] परमेश्वरले उनलाई जायजेथा दिनुभएन, जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन, तर पनि परमेश्वरले अब्राहामसँग ऊर उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो।
[6] परमेश्वरले उनीसँग यसरी भन्नुभयो: ‘तिम्रा सन्तानहरूले अर्काको देशमा गई प्रवासी भएर बस्नुपर्नेछ र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’
[7] परमेश्वरले भन्नुभयो, ‘तर जुन जातिका सेवक भई तिनीहरू बस्नेछन्, त्यस जातिलाई म दण्ड दिनेछु, र त्यसपछि तिनीहरू त्यस देशबाट बाहिर आउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’
[8] अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए, र जन्मेको आठौं दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए।
[9] “योसेफलाई दाजुभाइहरूले डाह गरेर उनलाई तिनीहरूले इजिप्ट देशमा बेचिपठाए; तर परमेश्वर तिनको पक्षमा हुनुहुन्थ्यो,
[10] र उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्ट देशकै हाकिम बनाए।
[11] “त्यसपछि सारा इजिप्ट देश र कनानमा अनिकाल पर्यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्ट भयो। हाम्रा पुर्खाहरूले अन्न व्यवस्था गर्न सकेनन्।
[12] जब इजिप्ट देशमा अन्न छ भनेर याकोबले सुने, उनले हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए।
[13] तिनीहरूका दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए।
[14] यसपछि, योसेफले आफ्नो बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरू गरी जम्मा पचहत्तर जनालाई बोलाइपठाए।
[15] अनि याकोब इजिप्ट देशमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो।
[16] तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए, र चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
[17] “अब्राहामसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्ट देशमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो।
[18] त्यसपछि योसेफका बारेमा केही पनि थाहा नपाएका एकजना अर्कै राजाले इजिप्ट देशमा शासन गर्न थाले।
[19] राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे, र हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्।
[20] “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो।
[21] जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पाल्न थालिन्।
[22] मोशालाई इजिप्ट देशको सबै ज्ञानको शिक्षा दिइयो, र उनी बोल्नमा र काममा शक्तिशाली भए।
[23] “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे।
[24] यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टका मानिसले दुर्व्यवहार गरिरहेको देखेर तिनले उसलाई बचाउन गए, र त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए।
[25] तिनीहरूलाई त्यस कष्टबाट छुटकारा दिलाउन परमेश्वरले उनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए; तर तिनीहरूले त्यो कुरो बुझ्न सकेनन्।
[26] भोलिपल्ट दुईजना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने ‘हे भाइहरूहो, तिमीहरू दाजुभाइ हौ; किन एक-अर्काका विरुद्ध यसरी लडिरहेकाछौ?’ यसो भनेर ती दुवैमा मिलाप गराउने तिनले प्रयत्न गरे।
[27] “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो?
[28] जसरी तिमीले हिजो इजिप्ट देशको एउटा मानिसलाई मार्यौ, के त्यसै गरी मलाई पनि मार्न चाहन्छौ?’
[29] यो सुनेपछि, मोशा त्यहाँबाट भागेर मिद्यान गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्न थाले। त्यहीं तिनका दुई छोराहरू जन्मे।
[30] “चालीस वर्ष बितेपछि, सीनै पर्वत नजिकैको मरुभूमिको एउटा बलिरहेको पोथ्रामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे।
[31] जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्चर्य चकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, उनले परमेश्वरको यस्तो वचन सुने:
[32] ‘म तिम्रो पुर्खाहरूका परमेश्वर हुँ, म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्।
[33] “त्यसपछि परमेश्वरले उनलाई भन्नुभयो, ‘यसभन्दा नजिक नआऊ। तिम्रो खुट्टाको जुत्ता फुकाल; किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो।
[34] इजिप्ट देशमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्चय नै देखेको छु। तिनीहरूका चित्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आऊ, म तिमीलाई इजिप्ट देशमै पठाउनेछु।’
[35] “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए।
[36] इजिप्ट देशमा, लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म आश्चर्यपूर्ण कामहरू र अद्भुतका चिन्हहरू देखाउँदै, उनले तिनीहरूलाई इजिप्ट देशबाट बाहिर ल्याए।
[37] “यी तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘तिमीहरूका आफ्ना मानिसहरूबाट नै परमेश्वरले मजस्तै एकजना अगमवक्ता तिमीहरूका निम्ति उठाउनुहुनेछ।’
[38] मोशा उजाडस्थानको सभामा थिए, ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा उनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए; अनि त्यहाँ उनले हामीलाई दिनका निम्ति जीवित वचन पाएका थिए।
[39] “तर हाम्रा पुर्खाहरूले उनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे, र आफ्नो हृदयमा इजिप्ट देश फर्कन अठोट गरे।
[40] तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्; किनकि हामीलाई इजिप्ट देशबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’
[41] त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए, त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए।
[42] तब परमेश्वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो। जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ। “ ‘हे इस्राएलीहो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मलाई बलिदानहरू र भेटीहरू चढायौ?
[43] मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइ लग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’
[44] “हाम्रा पुर्खाहरूले उजाडस्थानमा आफूहरूसँग साक्षीको पाल राख्नुभएको थियो। यो परमेश्वरले निर्देशन दिनुभएझैं र मोशाले देखेअनुसारको ढाँचामा बनाइएको थियो।
[45] त्यो पाल प्राप्त गरेपछि, यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दाविदको समयसम्म त्यो त्यहीं रह्यो।
[46] दाविदले परमेश्वरको प्रशस्त कृपा पाए, र याकोबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे।
[47] तर यो वासस्थानचाहिँ, सोलोमनले बनाए।
[48] “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:
[49] “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीले कस्तो वासस्थान बनाउँछौ? परमेश्वर भन्नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ?
[50] के मेरै हातले यी सबै कुराहरू बनाएका होइनन् र?’
[51] “हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरूहो! तपाईंहरू ठीक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।
[52] के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्वासघात गर्नुभयो र मार्नुभयो।
[53] स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्त गर्नुभयो, तर त्यसअनुसार तपाईंहरूले आज्ञा पालन गर्नुभएन।”
[54] जब यहूदी अगुवाहरूले यो कुरा सुने, तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले।
[55] तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे।
[56] अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु र त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहनुभएको देख्दछ।”
[57] यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनलाई झम्टिन पुगे।
[58] अनि स्तिफनसलाई शहरबाहिर घिस्याउँदै लगेर ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नाउँको एउटा युवकको पाउमा राखे।
[59] जुन बेला स्तिफनसलाई ढुङ्गा बर्साइरहेको थियो। तिनले यसरी प्रार्थना गरे, “प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।”
[60] त्यसपछि उनले घुँडा टेक्दै उच्च सोरमा भने, “प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्।” यति भन्नसाथ उनको मृत्यु भयो।