Skip to content
Opens in a new window
Listen to this chapter • 5:04

[1] प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु।

[2] उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु।

[3] आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वास लाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।

[4] तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू, त्यो प्राप्‍त नहोउन्जेल यरूशलेमलाई नछोड्नू।

[5] किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।”

[6] त्यसैकारण जब तिनीहरू भेला भएका थिए, तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गरिदिनुहुनेछ?”

[7] उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आफ्नो अधिकारद्वारा पिताले तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन।

[8] तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”

[9] उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामुन्‍ने उहाँ माथि स्वर्गमा लगिनुभयो र उनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।

[10] उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, त्यसै बेला अकस्मात् सेता पोशाकमा दुईजना मानिस तिनीहरूका नजिक प्रकट भए।

[11] तिनीहरूले भने, “हे गालीलका मानिसहरूहो, आकाशतिर हेर्दै तिमीहरू यहाँ किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएका यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसै गरी उहाँ फेरि आउनुहुनेछ।”

[12] त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम शहरदेखि झण्डै एक विश्रामदिनको बाटो टाढा पर्दछ।

[13] तिनीहरू त्यहाँ आइपुगेपछि, आफू बसेको माथिल्‍लो तलाको कोठामा गए। पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरो याकोब र सिमोन कनानी र याकोबको छोरो यहूदा उपस्थित थिए।

[14] येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहन्थे।

[15] ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरू (तिनीहरूका संख्या करीब एक सय बीस थियो) का बीचमा उभिए

[16] र भने, “दाजुभाइ-दिदीबहिनीहरूहो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दाविदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्‍त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।

[17] किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”

[18] (आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो; त्यहाँ त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, अनि त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्‍ट भए।

[19] यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए, यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)

[20] पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ वास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’

[21] यसैकारण एकजना यस्तो व्यक्‍ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।

[22] त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ; किनकि तीमध्ये एकजना हामीसँगै उहाँ पुनर्जीवित हुनुभएको साक्षी हुनैपर्दछ।”

[23] त्यसैले तिनीहरूले बर्साबास भन्‍ने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुईजनालाई प्रस्ताव गरे।

[24] अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबैका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसको छनौट तपाईंले गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्।

[25] अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।”

[26] त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाउँमा पर्‍यो। त्यसैले तिनी एघार प्रेरितहरूमा थपिए।

प्रेरित — Chapters