Skip to content
Opens in a new window
Listen to this chapter • 5:11

[1] यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थको शहरमा गए।

[2] त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाउँ गरेका एकजना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए; किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए।

[3] तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे।

[4] पावलले हरेक विश्रामदिनमा सभाघरहरूमा यहूदीहरू र ग्रीकहरूसँग तर्क गर्दै तिनीहरूलाई सम्‍झाउँदै मनाउँथे।

[5] जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।

[6] तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।”

[7] त्यसपछि पावल सभाघर छोडेर नजिकै तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्‍ति गर्ने मानिस थिए।

[8] सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गरे; त्यसै गरी पावललाई सुन्‍नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्‍वास गरे र तिनीहरूले बप्‍तिस्मा लिए।

[9] एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चूप नलाग;

[10] किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन; किनकि यस शहरमा मेरा धेरै मानिसहरू छन्।”

[11] यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ शहरमा डेढ वर्षसम्म बसे।

[12] गलियोन अखैयाका शासक भएका समयमा, कोरिन्थका यहूदीहरूले संयुक्‍त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए।

[13] उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रा व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।”

[14] जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ।

[15] तर यो ता वचनहरू, नाउँहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।”

[16] तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए।

[17] अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।

[18] पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्‍वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अघि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि

[19] तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीं छोडे। उनीचाहिँ त्यहाँका एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे।

[20] तिनीहरूले अझ केही समय बस्‍न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्।

[21] तर त्यहाँबाट विदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्‍वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनीले एफिससबाट जहाजको यात्रा गरे।

[22] उनी कैसरियामा उत्रिएपछि, यरूशलेममा गए, र मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए।

[23] एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; र गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँ यात्रा गर्दैगए।

[24] अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्‍लोस नाउँ गरेका एकजना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्‍ता र पवित्रशास्‍त्रको धेरै ज्ञान भएका मानिस थिए।

[25] तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे, अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्रै थाहा थियो।

[26] तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे, र परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्‍झाइदिए।

[27] जब अपोल्‍लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।

[28] किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्‍त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए।

प्रेरित — Chapters