Skip to content
Opens in a new window
Listen to this chapter • 2:58

[1] ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे; किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।

[2] त्यसैले बाह्रैजना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराए र भने, “परमेश्‍वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रो निम्ति उचित होइन।

[3] दाजुभाइ-दिदीबहिनीहरूहो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरू छान, जसलाई हामी यस काममा नियुक्‍त गर्न सक्छौं।

[4] अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गरिरहनेछौं।”

[5] यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो; अनि पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म मान्‍ने शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।

[6] छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूको अघि उपस्थित गराए। अनि प्रेरितहरूले आफ्ना हात तिनीहरूका शिरमाथि राखेर प्रार्थना गरिदिए।

[7] यसरी परमेश्‍वरको वचन फैलिँदै गयो र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दै गयो; र पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।

[8] परमेश्‍वरको शक्‍ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूका सामु आश्‍चर्यपूर्ण कामहरू र चिन्हहरू गरे।

[9] तर त्यस समयमा स्वतन्त्र दलका सभाघरहरू (यसको नाम यही थियो) भनिने सभाहरूका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले।

[10] तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।

[11] त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्‍न लगाए, “परमेश्‍वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौं।”

[12] त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए।

[13] तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्‍ति सदा बोलिरहन्छ।

[14] ‘नासरतका येशूले यो स्थान नष्‍ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौं।”

[15] महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैं चहकिलो भएको देखे।

प्रेरित — Chapters