Skip to content
Opens in a new window
Listen to this chapter • 6:57

[1] पावल र सिलास, अम्फिपोलिस र अपोल्‍लोनियाको बाटो हुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो।

[2] पावल सधैंजसो त्यस सभाघरमा गए; र तीन सातासम्म तिनले पवित्रशास्‍त्रका वचनहरूको सत्यता बताए।

[3] ख्रीष्‍टले कष्‍ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्‍ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्‍ट हुनुहुन्छ।”

[4] केही यहूदीहरू तिनको कुराले विश्‍वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्‍ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्‍ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए।

[5] तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमाश मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले शहरमा हूलदङ्गा मच्‍चाउन थाले; त्यसपछि यासोनको घरको सामुन्‍ने तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे।

[6] तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तिनीहरूले यासोन र अरू केही विश्‍वासीहरूलाई शहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए र कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्,

[7] र तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्‍ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”

[8] यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र शहरका अधिकृतहरूलाई अत्याइदिए।

[9] त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।

[10] रात पर्ने बित्तिकै, दाजुभाइ-दिदीबहिनीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए।

[11] थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए; किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे, र पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्‍त्रहरूमा अध्ययन गरी खोज्दथे।

[12] परिणाम स्वरूप तिनीहरूमध्ये धेरैजसोले विश्‍वास गरे; त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे।

[13] पावलले बेरियामा पनि परमेश्‍वरको वचनको प्रचार गरिरहेको भन्‍ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए।

[14] अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे।

[15] पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्‍याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्‍ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।

[16] जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो शहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनको मनभित्र धेरै व्याकुल भयो।

[17] त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्‍वरको भय मान्‍ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे।

[18] इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्‍न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनर्जीवनको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए।

[19] त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्‍न सक्छौं?

[20] तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौं र त्यसको के अर्थ हो सो हामी जान्‍न चाहन्छौं।”

[21] त्यहाँ बस्‍ने सबै एथेनीहरू र परदेशीहरू केही काम नगरी नयाँ कुराहरू सुन्‍नु र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे।

[22] अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरूहो! म देख्दैछु, तपाईंहरू हर किसिमले अति धार्मिक हुनुहुँदोरहेछ।

[23] किनकि जब म यस शहरतिर घुम्‍दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरें, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ: अज्ञात देवताका निम्ति। तपाईंहरूले अन्जानमै जसको पूजा गरिरहनुभएको छ, म उहाँकै बारेमा तपाईंहरूलाई प्रचार गर्दछु।

[24] “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वर स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्‍नुहुन्‍न।

[25] यदि उहाँलाई कुनै कुराको खाँचो पर्‍यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्‍न; किनकि उहाँ आफैले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ।

[26] अनि उहाँले एकजना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्‍नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो।

[27] मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्‍वरले त्यसो गर्नुभयो; तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्‍न।

[28] ‘किनकि हामी उहाँसँग जिउँदछौं, हिँड्दछौं र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरो यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौं।’

[29] “त्यसैले हामी परमेश्‍वरका सन्तान भएको कारण ईश्‍वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैं, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन।

[30] बितेका समयमा यस्ता अज्ञानतामा परमेश्‍वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्‍चात्ताप गर्नू भन्‍ने आज्ञा दिनुहुन्छ।

[31] किनकि उहाँले एउटा दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”

[32] जब तिनीहरूले मरेकाहरूको पुनर्जीवनको विषयमा सुने, तब कतिले गिल्‍ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्‍न चाहन्छौं।”

[33] अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए।

[34] तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्‍वास गरे; तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए, साथै दामारिस नाउँकी एउटी स्त्री र अरूहरूले पनि विश्‍वास गरे।

प्रेरित — Chapters