[1] एक दिन पत्रुस र यूहन्ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।
[2] त्यसै समयमा जन्मैदेखिको एउटा हिँड्न नसक्ने मानिसलाई बोकेर मन्दिरको सुन्दर भन्ने ढोकातिर लगिँदैथियो। त्यस ढोकामा त्यसलाई सधैं त्यसरी नै लगेर राखिन्थ्यो, जहाँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।
[3] जब त्यसले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देख्यो, तब त्यस हिँड्न नसक्नेले तिनीहरूसँग पैसा माग्यो।
[4] अनि पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, अनि पत्रुसले भने, “हामीतिर हेर!”
[5] त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले उनीहरूलाई ध्यान दिएर हेर्यो।
[6] अनि पत्रुसले भने: “मसँग सुन वा चाँदी छैन, तर मसँग जे छ, त्यो तिमीलाई दिन्छु नासरतका येशू ख्रीष्टको नाउँमा तिमी हिँड।”
[7] यति भनेर आफ्नो दाहिने हातले त्यस हिँड्न नसक्नेलाई समातेर उनले उठाउन थाले, अनि त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
[8] अनि त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरको आँगनहरूमा गयो।
[9] जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे,
[10] मन्दिरको सुन्दर भनिने ढोकामा बसेर सधैं भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने; अनि त्यो हिँड्न नसक्ने राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्चर्य चकित भए, र अचम्म माने।
[11] अनि त्यो भीख माग्नेले पत्रुस र यूहन्नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्चर्यमा परे, र तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
[12] यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “इस्राएलका मानिसहरूहो, यस कुरामा तपाईंहरू किन आश्चर्य चकित हुनुभयो? मानौ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्चर्यका साथ हेर्दै हुनुहुन्छ?
[13] अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दा पनि तपाईंहरूले अस्वीकार गर्नुभयो।
[14] तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो र त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।
[15] तपाईंहरूले जीवनको सृष्टिकर्तालाई मार्नुभयो, तर परमेश्वरले उहाँलाई मरेकाबाट बौराएर जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौं।
[16] येशूको नाउँमा विश्वास राख्नाले नै तपाईंहरूले देखिराख्नुभएको र चिनिराख्नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भयो। येशूको नाउँ र उहाँबाट आउने विश्वासका कारण नै यो मानिस पूर्ण निको भयो, जुन कुरो तपाईंहरू देख्दैहुनुहुन्छ।
[17] “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरूहो, यो मलाई थाहा छ कि तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अन्जानमा यस्तो काम गर्नुभयो।
[18] तर परमेश्वरका ख्रीष्टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसलाई परमेश्वरले यसरी पूरा गर्नुभयो।
[19] त्यसैले पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्, ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
[20] अनि उहाँले तपाईंहरूको उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू अर्थात् ख्रीष्टलाई पठाउनुहुनेछ।
[21] आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्वरले प्रतिज्ञा गर्नुभएझैं, सबै कुरा उहाँले फेरि पुनः: स्थापना नगरून्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ।
[22] किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका आफ्ना मानिसहरूबाट नै परमेश्वरले मजस्तै एकजना अगमवक्ता तिमीहरूका निम्ति उठाउनुहुनेछ; उहाँले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूले मान्नैपर्छ।
[23] उहाँको कुरा ध्यान दिएर नसुन्नेलाई त्यसका जनहरूबाट पूर्ण रूपले निकालिनेछ।’
[24] “वास्तवमै, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जो-जतिले बोलेका छन्, सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।
[25] तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्नुभएको थियो, ‘तेरा सन्तानद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष पाउनेछन्।’
[26] जब परमेश्वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तिमीहरू सबैलाई दुष्ट मार्गबाट फर्काएर आशिष दिन परमेश्वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”