[1] जब पेन्तिकोसको दिन आइपुग्यो, तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए।
[2] अचानक ठूलो बतास चलेको हुरीको जस्तै एउटा ठूलो आवाज त्यहाँ स्वर्गबाट आयो र तिनीहरू बसिरहेको पूरै घरलाई त्यसले भरिदियो।
[3] तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैं देखे, अनि ती तिनीहरू हरेकमाथि आएर बसे।
[4] तिनीहरू सबै पवित्र आत्माले भरिए, र पवित्र आत्माले सामर्थ बनाउनुभएअनुसार तिनीहरू अन्य भाषाहरूमा बोल्न थाले।
[5] त्यस समयमा स्वर्गको मुनि भएका हरेक जातिबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसोबास गर्दथे।
[6] जब तिनीहरूले यो आवाज सुने, अति आश्चर्य चकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो; किनकि हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने।
[7] अनि तिनीहरू एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने सबै मानिसहरू के गालीलीहरू होइनन् र?
[8] त कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामीहरू सुन्दैछौं?
[9] हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,
[10] अनि फ्रिगिया र पामफिलिया, इजिप्ट देश र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौं र रोमबाट आएका परदेशीहरू
[11] (यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं; अनि सबैले हाम्रो आ-आफ्नै भाषामा परमेश्वरको आश्चर्यपूर्ण कामहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं!”
[12] अचम्म र अन्योलमा परे, र तिनीहरू एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
[13] तर कतिले चाहिँ तिनीहरूका हाँसो गरेर भने, “धेरै मद्यपान गरेर तिनीहरू मात्तिएका छन्।”
[14] तब पत्रुस एघारै जनासँग उभिए, र उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरूहो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस् र म जे भन्छु त्यो ध्यानपूर्वक सुनिदिनुहोस्।
[15] तपाईंहरूले ठानेझैं यी मानिसहरू मातेका छैनन्; किनकि अहिले बिहानको नौ मात्र बजेको छ!
[16] तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरो नै हो:
[17] “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, सबै मानिसहरूमाथि म मेरो आत्मा खन्याइदिनेछु। अनि तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
[18] ती दिनहरूमा मेरा सेवक-सेविकाहरूमाथि पनि म मेरो आत्मा खन्याइदिनेछु, अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
[19] अनि माथि आकाशमा म आश्चर्यपूर्ण कामहरू देखाउनेछु, र तल पृथ्वीमा अद्भुत चिन्हहरू देखाउनेछु रगत, आगो र धूवाँका मुस्लाहरू।
[20] प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछन्।
[21] अनि प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’
[22] “हे इस्राएलका मानिसहो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई तपाईंहरूका सामु परमेश्वरले शक्तिशाली कामहरू, आश्चर्यपूर्ण कामहरू र अद्भुत चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो। तपाईंहरू सबैले जानेकै कुरा हो, तपाईंहरूका बीचमा यी कामहरू परमेश्वरले उहाँद्वारा गराउनुभएको हो।
[23] आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। यिनै येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो;
[24] तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै, परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।
[25] दाविदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैं देखें। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म कहिल्यै डगमगाउने छैनँ।
[26] यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ;
[27] किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, तपाईंले आफ्नो पवित्र जनको शरीर कुहिन दिनुहुनेछैन।
[28] जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभयो; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’
[29] “सङ्गी भाइहरूहो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दाविद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ।
[30] तर उनी एउटा अगमवक्ता थिए। उनकै सन्तानमध्ये एकजनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको उनलाई थाहा थियो।
[31] पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनर्जीवित हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न पातालमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहिन दिनुभयो।
[32] परमेश्वरले यिनै येशूलाई जीवित पार्नुभयो र हामी सबै यस तथ्यका साक्षी छौं।
[33] परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो र त्यसैलाई यहाँ खन्याइदिनुभयो जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ।
[34] किनकि दाविद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस
[35] जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिन।” ’
[36] “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून् कि, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यिनै येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।”
[37] जब त्यहाँ जम्मा भएका मानिसहरूले यो कुरा सुने, तिनीहरूका हृदय छियाछिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरूहो, अब हामीले के गर्नुपर्छ?”
[38] अनि पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाको निम्ति पश्चात्ताप गर्नुहोस् र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
[39] किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो, ती सबैका निम्ति जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
[40] अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।”
[41] तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करीब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
[42] तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे।
[43] प्रेरितहरूद्वारा धेरै आश्चर्यपूर्ण कामहरू र चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।
[44] सबै विश्वासीहरू एकैसाथ बस्थे र सबै थोक तिनीहरूमा साझा थिए।
[45] आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।
[46] तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे र घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे,
[47] र परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।