Skip to content
Opens in a new window
Listen to this chapter • 4:52

[1] तब परमेश्‍वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।

[2] पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्।

[3] हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।

[4] “तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ।

[5] तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्‍चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।

[6] “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।

[7] तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”

[8] तब परमेश्‍वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्‍नुभयो:

[9] “अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु;

[10] अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित।

[11] म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्‍ट पार्ने जलप्रलय फेरि हुनेछैन।”

[12] अनि परमेश्‍वरले भन्‍नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो:

[13] म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ।

[14] जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ;

[15] तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्‍ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन।

[16] जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्‍वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”

[17] यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”

[18] जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।)

[19] नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो।

[20] नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए।

[21] जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते।

[22] कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए।

[23] तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।

[24] जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए;

[25] तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।”

[26] तिनले यो पनि भने, “शेमका याहवेह परमेश्‍वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्!

[27] परमेश्‍वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।”

[28] जलप्रलयपछि नोआ 350 वर्ष बाँचे।

[29] नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे।

उत्पत्ति — Chapters