Skip to content
Opens in a new window
Listen to this chapter • 5:56

[1] अब याहवेहले भन्‍नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो।

[2] सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा तिनका निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।

[3] साराले अब्राहामका निम्ति जन्माएकी छोरालाई तिनले इसहाक नाम दिए।

[4] जब अब्राहामको छोरा इसहाक आठ दिनका भए, तब परमेश्‍वरको आज्ञाअनुसार तिनले उसको खतना गरे।

[5] आफ्नो छोरा इसहाकको जन्म हुँदा अब्राहाम सय वर्ष पुगेका थिए।

[6] साराले भनिन्, “परमेश्‍वरले मलाई हाँस्‍ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्‍नेछन्।”

[7] अनि तिनले अझ भनिन्, “साराले सन्तानहरूलाई दूध खुवाउनेछिन् भनेर अब्राहामलाई कसले भन्थ्यो होला? र पनि मैले उहाँको वृद्धावस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएँ।”

[8] जब बालक इसहाक बढ्दैगयो, तब तिनलाई दूध छुटाइयो; अनि दूध छुटाइएको त्यस दिन अब्राहामले एउटा ठूलो भोज लगाए।

[9] तर अब्राहामका निम्ति इजिप्टियन हागारले जन्माएकी छोराले आफ्नो छोरा इसहाकलाई ठट्टा गरिरहेको साराले देखिन्।

[10] यसकारण तिनले अब्राहामलाई भनिन्, “त्यो दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यसको छोरो मेरो छोरो इसहाकसित कहिल्यै उत्तराधिकारी हुन सक्दैन।”

[11] यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो।

[12] तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।

[13] म तेरी दासीको छोरालाई पनि एउटा ठूलो जाति बनाउनेछु; किनकि त्यो पनि तेरै सन्तान हो।”

[14] तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।

[15] जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी।

[16] तब त्यो एक काँड हान्‍ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।

[17] तब परमेश्‍वरले त्यो बालक रोइरहेको सुन्‍नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्‍वरले त्यसको सोर सुन्‍नुभएको छ।

[18] त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”

[19] तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई।

[20] जब त्यो बालक बढ्दैगयो; परमेश्‍वर त्यससित हुनुहुन्थ्यो। त्यो मरुभूमिमा बस्थ्यो; र एउटा धनुर्धारी बन्यो।

[21] त्यो पारानको मरुभूमिमा बस्थ्यो, तब त्यसकी आमाले इजिप्टबाट त्यसका निम्ति एउटी पत्नी ल्याइदिई।

[22] त्यस बेला अबीमेलेक र तिनका सेनाका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गरेका सबै कुराहरूमा परमेश्‍वर तपाईंको साथमा हुनुहुन्छ।

[23] अब परमेश्‍वरको सामु मसित शपथ खानुहोस्; तपाईंले मसित र मेरा छोराछोरीहरू अथवा मेरा सन्तानहरूसित झूटो व्यवहार गर्नुहुनेछैन। तर जसरी मैले तपाईंलाई दया देखाएँ, त्यसरी नै तपाईंले पनि मसँग र अहिले तपाईं विदेशी भएर बस्‍नुभएको देशलाई दया देखाउनुहोस्।”

[24] अब्राहामले भने, “हुन्छ, म यो शपथ खान्छु।”

[25] तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे,

[26] तर अबीमेलेकले भने, “यो काम कसले गरेको हो, सो म जान्दिनँ। तपाईंले मलाई भन्‍नुभएन, र आज मात्र मैले यस विषयमा सुनेँ।”

[27] यसकारण अब्राहामले केही भेडा र गाईबस्तुहरू ल्याएर अबीमेलेकलाई दिए; अनि ती दुवैले करार बाँधे।

[28] अब्राहामले सात वटा भेडाका पाठीहरू बगालबाट अलग पारे,

[29] अनि अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात वटा पाठीहरू अलग राख्नुभएको अर्थ के हो?”

[30] तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भन्‍ने प्रमाण होऊन् भनी यी सात वटा पाठीहरू मेरा हातबाट स्वीकार गर्नुहोस्।”

[31] यसकारण त्यस ठाउँलाई बेर्शेबा भनियो; किनकि ती दुवैले त्यहाँ शपथ खाएका थिए।

[32] बेर्शेबामा करार बाँधेपछि अबीमेलेक र तिनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।

[33] अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ तिनले याहवेह अनन्तका परमेश्‍वरको नाममा पुकार गरे।

[34] अनि अब्राहाम केही समयसम्म पलिश्तीहरूको देशमा बसोबास गरे।

उत्पत्ति — Chapters